विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८ औं स्थानमा कायमै रहेको हो। गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो ।
नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । भारत २ स्थान खस्कदै १०७ औं स्थानमा छ । त्यस्तै १५८ औं स्थानमा रहेको माल्दिभ्स यथावत छ।
भुटान १८७ औं स्थानमा यथावत रहँदा एक स्थान खस्किएको बंगलादेश १८९ औं स्थानमा पुगेको छ। १९८ स्थानमा पाकिस्तान र २०५ स्थानमा श्रीलंका छन्।
यसअघि गत भदौ तेस्रो साता नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलका थिए । जसमा एक खेल बराबरी भयो भने अर्कोमा भारतले नेपालमाथि २–१ गोल अन्तरले जित निकालेको थियो।
फिफा वरीयताअनुसार एसियाली राष्ट्रमा आफूलाई ५ स्थान सुधार गर्दै इरान २२ औं स्थानमा उक्लिएको छ। २ स्थान खस्किएको जापान २६ तथा चार स्थान सुधार गरेको अष्ट्रेलिया ३२ औं स्थानमा उक्लिएको छ।
शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रो स्थानमा ब्राजिल रहँदा एक स्थान सुधार गर्दै इंल्याण्ड तेस्रो स्थानमा उक्लिएको छ। यसअघिको तेस्रो स्थानमा रहेको फ्रान्स चौथो स्थानमा झरेको छ।
पाँचौ स्थानमा इटाली, छैठौंमा अर्जेन्टिना, सातौंमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा मेक्सिको र १० औं स्थानमा डेनमार्क छन्।