नेपाली राष्ट्रिय फुटबल टिमले आगामी शनिबार सन् २०२२ को पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ। अफ्रिकी मुलुक मरिससविरूद्ध नेपालले दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार गरी दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो।
यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। नेपालले पछिल्लो पटक भारतसँग गत सेप्टेम्बरमा दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।
हाल फिफा वरीयाताको १६९औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।
नेपालसँग प्रतिस्पर्धा गर्न सोमबार विहान काठमाडौं आइपुग्ने मरिससले सन् २०१९ को मार्चदेखि जित निकाल्न सकेको छैन।
२०१९ मार्च २१ मा न्यु क्यालेडोनियालाई ३-१ ले हराएयता मरिसस जितविहीन छ। त्यसयता मरिससले ९ खेल खेल्दा १ खेल बराबरी गर्नु नै उपलब्धि हो। बाँकी ८ खेलमा मरिसस पराजित भएको थियो।
तीन वर्षको अधविमा अफ्रिका कप अप नेसन्सको छनोटअन्तर्गत जिम्बावेसँग समग्रमा ७-१ ले पराजित हुँदा मरिसस विश्वकप छनोटमा मोजाम्बिकसँग समग्रमा ३-० ले हारेको थियो।
मरिससको टिममा युरोपका क्लबबाट व्यवसायिक खेल्ने खेलाडी छन्। डिफेन्डर लिन्ड्ले रोस पोल्यान्डको शीर्ष डिभिजनको क्लब लेगिया वार्साबाट खेल्छन्। यस्तै मिडफिल्डर एडेल लाङले स्पेनिस ला लिगा क्लब अलाभेसबाट खेल्ने गरेका छन्। मिडफिल्डर जेरेमी भिलेनिभ फ्रान्सको दोस्रो डिभिजनको क्लब लु पे र फरवार्ड ग्यारी नोइल इंग्ल्यान्डको क्षेत्रीय लिग खेल्ने क्लब लेविस एफसीमा आबद्ध छन्।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको खेललाई सिक्ने अवसरको रूपमा लिएको बताएका छन्। यो खेलका लागि नयाँ खेलाडीलाई मौका दिने पनि उनको भनाइ छ।
गत सातादेखि प्रशिक्षण थालेको टिममा प्रशिक्षक अब्दुल्लाहले ३४ खेलाडीलाई बोलाएका छन्। यी मध्ये पाँच खेलाडीलाई कोभिड-१९ को संक्रमण देखिएको छ। पाँच मध्ये तीन खेलाडी नेपाली टिमका महत्वपूर्ण खेलाडी भएको बताइएको छ।