स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पूनरागमन जित निकाल्दा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोलले हरायो । सेभियाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै रोमाञ्चक जित निकालेको हो। एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गरे। भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गरेका थिए।
खेलमा सुरुवाती अग्रता भ्यालेन्सियाले लिएको थियो। २५औं मिनेटमा युनुस मुसाहले गोन्कालो गुइडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। ४४औं मिनेटमा ह्युगो डुरोले टोनी लाटोको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा खेलमा फर्किएको एट्लेटिकोले ६४औं मिनेटमा पहिलो गोल फर्काएको थियो। म्याथिअस कुन्हाले यान्निक कारास्कोको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एन्जल कोरेआले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। लगत्यै मारियो हर्माेसोले म्याथिअस कुन्हाको पासमा गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए।
घरेलु मैदानमा ६५ प्रतिशत बल पोसेसन राख्दै भ्यालेन्सियालाई कडा दबाब दिएको एट्लेटिकोलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा २–० ले पछि परेको एट्लेटिकोले अन्तिममा जित निकालेरै छाड्यो ।
एट्लेटिकोका एन्जल कोरेआ ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै २१ खेलबाट ३६ अंक बनाएको एट्लेटिको चौथो स्थानमा यथावत छ । पराजित भ्यालेन्सिया २९ अंक सहित नवौं स्थानमा छ ।
यसैगरी अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियालाई उसैको मैदानमा रोक्न सेल्टा भिगोका फ्रान्को सर्वीले ३७औं र इगो आसपासले ४०औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुई गोलले पछि परेको सेभियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ७१औं मिनेटमा पुपु गोमेजले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरे । ओलिभर टोरेसले ७४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि थप गोल नहुँदा सेभिया अंक बाँड्न बाध्य भयो । बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २२ खेलबाट ४६ अंक छ । सेभिया शीर्षस्थानमा रहेको रियल म्याड्रिड भन्दा तीन अंकले पछाडी छ ।
एक खेल कम खेलेको रियलको ४९ अंक छ । सेभियालाई रोकेको सेल्टा भिगो २७ अंक सहित ११औं स्थानमा छ । ला लिगाकै अन्य खेलमा भिल्लारियलले मालोर्कालाई ३–० र काडिजले लिभान्तेलाई २–० गोलले पराजित गरेको छ ।