आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेट पराजित भएको छ।
संयुक्त अरब इमिरेट्स (युएइ)को शेख जाहेद रङ्गशालामा आज टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन जोडेको थियो । जवाफी ब्याटिङमा आएको पपुवान्युगिनीले आठ विकेटको क्षतिमा तीन बल बाँकी छँदै लक्ष्य पूरा गर्यो ।
पपुवान्युगिनीलाई जित दिलाउन अस्साद भालाले महत्वपूर्ण ८७, चार्लेस अमिनीले ३५, टोनी उराले ३० रनको योगदान दिँदा अविजित रहेका जोन रेभाले १५ तथा नोरम्यान भानुले एक रन जोडे ।
यसअघि नेपालले खराब सुरुआत गर्ने क्रममा ओपनर अनिल मण्डललाई शून्य रनमा गुमाएको थियो तर शरद भेषवाकर र सुवास खकुरेलले नेपाली क्रिज सम्हाल्ने प्रयास गरे । सर्वाधिक ७८ रनको योगदान दिएका शरदले ८२ बलको सामना गर्दै पाँच चौका हानेका थिए भने सुवास खकुरेलले १०४ बल खेल्दै दुई चौकाको मद्दतमा ६३ रन जोडे ।
त्यस्तै वसन्त रेग्मीले अविजित रहँदै २४, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ र सागर पुनले १० रनको योगदान दिए भने अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन् ।
त्यसैगरी बलिङतर्फ पपुवान्युगिनीका भालाले तीन, माहुरु दाइले दुई तथा रेभा, चड सोपर र भानुले एक/एक विकेट लिए । नेपालका कप्तान पारस खड्का र मेहेबुब आलमले दुई/दुई तथा सागर, शक्ति गौचन र सोमपाल कामीले एक/एक विकेट लिए पनि नेपालको हार टरेन ।
आजको हारले नेपालको विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने अवसर कमजोर भएको छ । यसअघि स्कटल्यान्डमा भएको पहिलो चरणका स्कटल्यान्डविरुद्धका दुवै खेलमा नेपालले हार बेहोरेपछि पपुवान्युगिनीलाई आज जित्नैपर्ने दबाब परेको थियो।
स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार बेहोर्न पुगेको थियो ।
त्यस्तै नेदरल्यान्ड्समा सम्पन्न पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवान्युगिनी पनि अङ्कविहीन अवस्थामा थियो । पपुवान्युगिनी नेदरल्यान्ड्ससँग पहिलो खेलमा पाँच विकेटले तथा दोस्रो खेलमा ८५ रनले पराजित भएको थियो।
प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, हङकङ, नामिबिया, पपुवान्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोली सहभागी छन् । सबै सहभागी टोलीले एकार्कासँग दुई/दुई खेल खेल्नेछन् । उक्त टोलीमध्ये शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ ।