काठमाडौं महानगरपालिकाले सार्वजनिक सवारी साधनलाई ट्राफिक सचेतनायुक्त सामाग्री भरिएको पेनड्राइभ वितरण गर्ने भएको छ।
यात्रुहरूले कसरी यात्रा गर्ने, चालक सहचालकले यात्रुलाई कस्तो व्यवहार गर्ने, ट्राफिक नियमको जानकारीलगायतका सामग्री समावेश गरेर पेन ड्राइभ वितरण गर्न लागिएको महानगरपालिकाको शहरी सुव्यवस्था विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।
‘अहिले हामी कन्सेप्ट बनाउँदै छौं। कन्सेप्ट तयार भएपछि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, राष्ट्रिय यातायात व्यवसायी महासघं लगायतसँग छलफल गरेर अगाडि बढ्छौं,’ कुँवरले सेतोपाटीसगँ भने।
पेनड्राइभ भएका सामग्री चालकले सवारी साधनमा बजाउन पर्नेछ। यसबाट नजाँदिदो तरिकाले यात्रु तथा चालक/सहचालकलाई ट्राफिक नियम र कर्तव्यको जानकारी हुने महानगरको विश्वास छ।
‘गाडी किन जहाँ पायो त्यहाँ रोक्न हुँदैन, चालक सहचालकसगँ कस्तो व्यवहार गर्ने, ऐन कानुनहरू के-के छन् जस्ता कुरा पेनड्राइभमा हुन्छ। गाडीमा गित बजाउनुभन्दा त यो धेरै ठीक हो नि,’ कुँवरले भने।
काठमाडौं महानगरपालिकामा टुँडिखेललाई केन्द्र बनाएर गुड्ने करिब २ हजार सार्वजनिक सवारी छन्।
यो कार्यक्रमको खर्च धेरै नलाग्ने भएकोले कुनै कम्पनीसगँ सिएसआर साझेदारीमा पनि गर्न सकिने कुँवरले जानकारी दिए।
महानगरको यो कार्यक्रमक राम्रो भएपनि लागू गर्नुभन्दा पहिले सरोकार निकायसगँ छलफल गर्नु पर्ने राष्ट्रिय यातायात व्यवसायी महासघंका महासचिव सरोज सिटौलाको तर्क छ।
‘यातायात क्षेत्रको सुधारको लागि हामी सधैँ तयार छौं तर कसैको व्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताको लागि गरिएको हो भने कुनै पनि हालतमा मान्य हुँदैन,’ सिटौलाले भने ‘पहिले पनि यस्ता नौला कार्यक्रम धेरै आए- धेरै गए। गहन छलफल र अध्यननबिना कुनै कार्यक्रम ल्याउनु हुँदैन।’