एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक कम्पनी सरल ऊर्जा नेपाल (सन) सँग सम्झौता गरेको छ।
बैंक र ऊर्जा उत्पादक कम्पनीबीच ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा खरिद (पीपीए) गर्ने सम्झौता भएको हो। एनएमबी बैंकमा जडान गरिने सौर्यऊर्जा प्रणाली ग्राहकले जडान र सञ्चालनका लागि लगानी नगरि नै ऊर्जा उपभोग गर्न पाउने बैकले जनाएको छ।
विद्युत् प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा बैंकको केन्द्रीय कार्यालयको छतमा राखिने बैंकले जनाएको छ ।
यस ऊर्जा खरिद सम्झौता अन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ।
नेपालभरि छानामा राखिने सौर्यऊर्जा प्रणालीको विस्तार, लगानी विस्तारका लागि यसको उपयोग गर्ने एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीको भनाइ छ।
बैंकका अनुसार एनएमबीको छानामुखी सौर्य प्रणालीको आयु २० वर्षभन्दा लामो छ। उक्त अवधिमा बैंकले प्रशारण लाइनबाट प्राप्त विद्युत् भन्दा कम दरमा प्रतियुनिट भुक्तानी गर्नेछ ।
यो ५० किलोवाटको सौर्यऊर्जाले २० लाख किलोवाट घण्टा (किलोवाट आवर) बराबरको विद्युत् आयात कम गर्नमा तथा आयोजना अवधिभरिमा २ करोड रुपैयाँभन्दा बढीको आयात लागत घटाउन सहयोग पुर्याउने बैंकको दाबी छ।
यो प्रणालीबाट आउँदो पाँच वर्षभित्रमा ५ सय मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने सनका प्रमुख कार्यकारी अधिकृत आशिष चालिसेले बताए।