अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई मुद्रा बजारमा नखेल्न सुझाव दिएका छन्।
नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले उच्च व्याजदरमा बैंकको मुद्दती निक्षेपमा रकम लगानी गर्नेतिर कोष केन्द्रित हुन नहुने बताए। ‘तपाईहरुलाई हामीले नियमन गरिरहेका छौँ, उच्च व्याजदरमा लगानी गरी मुद्रा बजारमा धेरै नखेल्नुहोस्’ खतिवडाले भने।
नागरिक लगानीसहित अन्य संस्थागत कोषहरुले दीर्घकालीन पुँजीको स्रोत जुटाउनका लागि काम गर्नुपर्नेमा उनको जोड छ। कात्तिक मसान्तसम्म १ खर्ब ११ अर्ब रुपैयाँ संकलन गरेको कोषले निक्षेपमा सबैभन्दा धेरै रकम लगानी गरेको छ।
सो अवधिसम्म वाणिज्य बैंकहरुमा ६८ अर्ब ८० करोड, विकास बैंकहरुमा २० करोड तथा फाइनान्स कम्पनीहरुमा ९२ करोड निक्षेपमा लगानी गरेको छ।
सुरक्षा कोषहरुको नियमन राष्ट्र बैंकलाई दिनेगरी परामर्श भैरहेको पनि उनले बताए। संचालनमा रहेका पाँच वटा सुरक्षा कोषहरुलाई एउटै छातामुनि ल्याउनेगरी सरकारले योजना बनाएको उनले बताए।
कोषको स्थापनादेखि नै सीमित क्षेत्राधिकार भएकाले धेरैमा हात नहाल्न अर्थमन्त्रीले सुझाव दिए। सो अवसरमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सरकारी पूर्वाधारहरुमा लगानी बढाउन कोषलाई सुझाव दिए। साथै उद्यमी र कृषकलाई पनि आफ्नो सेवामा समेट्न उनले आग्रह गरे।
योगदानमा आधारित सामाजिक सुरक्षाको जिम्मा कोषलाई दिइएमा त्यो जिम्मा पुरा गर्न तयार रहेको कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए। कोषले सातै प्रदेशमा आफ्नो कार्यालय संचालनमा ल्याउने उनको भनाई छ।
चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको कोषले छिट्टै स्टक मार्केट डिलरको रुपमा काम गर्नेछ। ‘मार्केट डिलरको रुपमा काम गर्ने जिम्मा पाएसँगै हामीले सेयर बजारमा लगानी गर्दै गएका छौँ’ कार्यकारी निर्देशक नेपालले भने।
कोषले हाल ११ वटा कार्यक्रमहरु संचालन गरिरहेको छ। अवकास कोष, नागरिक एकांक योजना, उपदान कोष, निजामति बीमा कोष, शिक्षक, नार्क तथा सशस्त्र प्रहरीको बीमा कोषमार्फत नागरिकले रकम संकलन गर्दै आएको छ। संकलित रकम विभिन्न आयोजना तथा सरकारी निकायहरुमा ऋण लगानी गर्दै आएको छ।