प्राथमिक बजारमा सेयर तथा ऋणपत्रको चाप बढ्दा अनलाइन सिस्टममा समस्या आएको छ।
कतिपयले अनलाइनबाट सेयर भर्न नपाएको गुनासो गरेका छन्। लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङको ‘मेरोसेयर’ अनलाइनमार्फत प्राथमिक सेयर भर्दै आएका छन्। यतिबेला पाँच वटा कम्पनीको प्राथमिक सेयर र केही बैंकको ऋणपत्र बिक्री खुला भइरहेकाले लोड परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।
कम्पनीका प्रवक्ता सुरेश न्यौपानेले लोड बढी परेकाले बेलाबेलामा समस्या देखिएको जानकारी दिए। ‘यतिबेला ९ वटा कम्पनीको आइपिओ वा डिवेन्चरका लागि आवेदनको क्रम चलेको छ’ उनले भने ‘लोड बढी हुँदा बेलाबेलामा समस्या देखिएको हो।’ प्राथमिक सेयरमा करिब ७० प्रतिशत आवेदन अनलाइनबाट आउने गरेको न्यौपानेले बताए।
तिमध्ये ४ वटा कम्पनीको प्राथमिक सेयरमा अत्याधिक चाप परेको छ। एग्रो लघुवित्त, गणपति माइक्रोफाइनान्स, सान्जेन जलविद्युत र रसुवागढी जलविद्युतको सेयरमा अत्याधिक लोड देखिएको छ।
सान्जेन र रसुवागढीको सेयर निश्कासन मंगलबारदेखि बन्द हुँदैछ। तर मंगलबार अपह्रान्हसम्म पनि सेयर भर्न नपाएको भन्दै धेरै लगानीकर्ताले बिक्री प्रवन्धकसमक्ष गुनासो गरेका छन्। बिक्री प्रवन्धकले ति कम्पनीको सेयरमा आजदेखि आवेदन बन्द हुने बताएका छन्। मागभन्दा बढी आवेदन परेपछि पूर्वघोषित मितिअनुसार ति कम्पनीको आवेदन आज बैंकिङ समयपश्चात बन्द हुने भएको हो।
यी चारै कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेको छ। यसको विकल्पका रुपमा कम्पनीहरुलाई प्राथमिक सेयर निश्कासनको समय नजुध्नेगरी वातावरण बनाउनेतिर सिडिएससी लागेको न्यौपानेले बताए। ‘बिक्री प्रवन्धकसँग सम्झौता गर्नुअघि नै समय नजुध्नेगरी निश्कासन गर्न आग्रह गर्छौैँ’ उनले भने।
यसअघि धितोपत्र बोर्डले समेत प्राथमिक सेयर निश्कासन नजुधाउन निर्देशन दिएको थियो। प्राथमिक सेयर निश्कासन जुध्दा एकै पटक भार समेत थपिने गरेको बताउँछन् लगानीकर्ता पिताम्बर खरेल। ‘प्राथमिक सेयर साना लगानीकर्ताका लागि एकदमै उपयुक्त हुन्छ’ उनले भने ‘एकै पटक धेरै कम्पनीको सेयर खुल्दा सबैतिर रकम नपुग्न सक्छ।’
धेरै साथीभाईहरुले अनलाइनबाट सेयर भर्न नपाएको गुनासो गरेको उनले बताए। ‘धेरैले अन्तिम दिनमा मात्रै सेयर भर्ने भएकाले कतिपयले भर्न नपाएको अवस्था छ’ खरेलले भने ‘यो समस्यामा सम्बद्ध निकायको बेलैमा ध्यान पुगोस्।’
अनलाइनबाट आवेदन दिइसकेपछि माग गरिए बराबरको रकम बैंक खातामा रोक्का हुन्छ। सो कम्पनीको सेयर बाँडफाँड भएपछि परेको सेयरको रकम कटौती भई बाँकी रकम पुनः खातामै आउँछ। तर अहिले एकैपटक धेरै कम्पनीको सेयरमा रकम ब्लक गर्नुपर्ने अवस्था आएको लगानीकर्ताको गुनासो छ।