नागरिक लगानी कोष र कर्मचारी संचय कोषको संयुक्त मार्केट डिलर संचालन हुने भएको छ।
संयूक्त रुपमा मार्केट डिलर संचालन गर्ने अवधारणाका साथ नागरिक लगानी कोष अघि बढेको प्रमुख कार्यकारी अधिकृत रमण नेपालले जानकारी दिए। ‘संचय कोषसँग मात्रै नभई टेलिकम, बीमा कम्पनीहरुको पुँजीबाट संयूक्त रुपमा मार्केट डिलर संचालन गर्नेगरी कुराकानी भइरहेको छ’ उनले भने।
कुन कम्पनीले कति पुँजी जुटाउने भन्ने सम्वन्धमा भने सहमति भइ नसकेको उनले बताए। ‘कसले कति पुँजी हाल्ने भन्ने सम्वन्धमा हामी पुनः छलफल गरी निर्णय गर्छौँ’ नेपालले भने।
यसअघि नागरिक लगानी कोषले सहायक कम्पनी खोलेर मार्केट डिलरको रुपमा काम गर्ने तयारी गरेको थियो। सहायक कम्पनीले बास्केट फण्ड खडा गर्ने र सोही फण्डमा टेलिकम, बीमा कम्पनीहरुले पैसा हालेर धितोपत्रहरुमा लगानी गर्नेगरी काम अघि बढाएको थियो। सहायक कम्पनी संचालनका लागि प्रवन्धपत्र र नियमावली समेत बनाएर कोषको बोर्डमा लागिएको छ।
तर कोषको पुँजीले मात्रै डिलर संचालन गर्दा प्रभावकारिता नहुने भन्दै अर्थ मन्त्रालयले संयुक्त रुपमा संचालन गर्न भनेको हो। नागरिक लगानी कोषको चुक्ता पुँजी १ अर्ब १० करोड मात्रै रहेकाले सहायक कम्पनीको चुक्ता पुँजी माउ कम्पनीको भन्दा बढी हुन नपाउने व्यवस्था छ।
धितोपत्र बोर्डले पनि मार्केट डिलर संचालनका लागि चासो दिएको छ। बोर्डले मार्केट डिलर संचालनका लागि भइरहेका प्रयासका सम्वन्धमा नेप्सेसँग जवाफ मागेको थियो। नेप्सेले मार्केट डिलर संचालनका लागि अहिलेको कारोबार प्रणालीले साथ दिने र प्राविधिक रुपमा काम गर्न सक्षम रहेको जनाउँदै आएको छ।
मार्केट डिलरलाई स्टक एक्स्चेन्जले छुट्टै ‘विन्डो’ उपलव्ध गराउने छ। सो विन्डोमार्फत डिलरले सेयर खरिद तथा बिक्री गर्न सक्ने छन्। डिलरलाई ब्रोकरेज कमिसन तिर्नु पर्दैन। यद्यपी नेप्से र धितोपत्र बोर्डको शुल्क भने लाग्नेछ।
कोषले अहिले पनि विभिन्न कम्पनीको सेयरमा लगानी गर्दै आएको छ। कुल १ खर्ब २२ अर्ब लगानीमध्ये सेयरमा ३ प्रतिशत लगानी रहेको प्रवक्ता उद्धव सिलवालले जानकारी दिए।
लगानीकर्ताले वर्षौदेखि धितोपत्र बजारको विकासका लागि मार्केट डिलरको माग गर्दै आएका छन्। मार्केट डिलर संचालनमा आएपछि धेरै हदसम्म सेयरको माग बढ्ने र त्यसले बजारको विकासमा टेवा पुग्ने लगानीकर्ताको भनाई छ।
‘मार्केट डिलर भएमा बजारमा आउने तीब्र उचारचढाव नियन्त्रण हुन्छ’ लगानीकर्ता पिताम्बर खरेलले भने। बजार तल झर्दा डिलरले खरिद बढाउने र माथि जाँदा बिक्री बढाउने भएकाले माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन सघाउ पुग्ने उनको भनाई छ।