शिवम् सिमेन्टको सेयर खरिद गरेकाहरुले एक महिनामै दोब्बर नाफा कमाएका छन्।
कम्पनीको बैशाख ९ गते बजारमा सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेकोमा जेठ ५ गते (आइतबार) ६२९ रुपैयाँ पुगेको छ आइतबार मात्रै ९. ९७ प्रतिशतले कम्पनीको सेयर मूल्य बढेको हो।
यस दिन पनि सबैभन्दा धेरै मूल्य शिवम् सिमेन्टको नै बढेको हो। केही दिनयता क्रमिक रुपमा कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भइरहेको छ।
प्राथमिक सेयर खरिद गरेकाहरुले पनि आजको मूल्यलाई हेर्ने हो भने १०९ प्रतिशत नाफा कमाएका छन्। कम्पनीले ३ सय रुपैयाँका दरले प्राथमिक सेयर निश्कासन गरेको थियो।
आइतबार अन्तिममा कम्पनीको सेयर खरिद गर्नेतर्फ ९० हजार कित्ताको माग रहँदा बेच्नेतर्फ एक कित्ता पनि उपलव्ध हुन सकेको छैन। शिवम्को सेयर किनबेचमा ब्रोकर नम्वर ५८ सबैभन्दा अगाडि देखिन्छ।
लगानीकर्ता तिलक कोइरालाले कम्पनीको सेयरमा जोखिम लिन चाहनेहरुले मात्रै लगानी गर्नु उपयुक्त हुने बताउँछन्। ‘कम्पनीको मूल्य बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ, त्यसकारण जोखिम बहन गर्न सक्नेले मात्रै खरिद गर्नुपर्ने बेला भएको छ।’
कम्पनीको कुल ४७ लाख कित्ता प्राथमिक सेयर आएको र त्यसमध्ये करिब २७ लाख कित्ता बजारमा घुमिरहेको उनले बताए। कारोबारीहरुले दैनिक रुपमा नाफा लिँदै बेच्ने र सोही कम्पनीको सेयर उठाउने फेरि नाफा लिएर बेच्ने गर्दा मूल्य उच्च भएको उनले बताए।
‘कतिपयले शिवम् सिमेन्टलाई युनिलिभरसँग तुलना गरेर प्रचारबाजीमा लागेको पाइन्छ’ उनले भने ‘तर लगानीकर्ताले आफूले कति लगानीबाट कति प्रतिफल पाउन सकिन्छ भनेर वित्तीय स्थिति मूल्याङ्कन गर्नुपर्छ।’
अर्कोतर्फ बजारमा एउटा मात्रै सिमेन्ट उद्योग सूचीकृत भएकाले लगानीकर्तामा मूल्य बढ्दै जाँदा अझै बढ्छ कि भन्ने आशा समेत बढेको कोइराला बताउँछन्।
अहिले जसरी सेयर मूल्य बढ्दै गएको छ, भोलि त्यही दरमा घट्ने संभावना पनि उच्च रहेकाले जोखिम लिन नचाहनेका लागि कम्पनीको सेयर अहिले उपयुक्त नभएको लगानीकर्ताको सुझाव छ।
अर्का लगानीकर्ता पिताम्बर खरेल अल्पकालीन नाफाका लागि कारोबारीहरु सक्रिय हुँदा मूल्य उच्च भएको बताए। ‘एउटा मात्रै सिमेन्ट उद्योग भएकाले धेरैलाई बहाना बनाएर मूल्य उचाल्ने विषय बनेको छ’ उनले भने।मूल्य आम्दानी अनुपातका आधारमा कम्पनीको मूल्यमा जोखिम बढ्दै गएको उनको भनाई छ।
कस्तो छ वित्तीय स्थिति ?
दिनदिनै सेयर मूल्य बढेको शिवम् सिमेन्टको नाफामा पनि वृृद्धि देखिएको छ। ९ महिनामा शिवम् सिमेन्टको नाफा १ अर्ब ५ करोड पुगेको छ। गत वर्षको यस अवधिमा कम्पनीको नाफा ९३ करोड ६६ लाख थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ। प्रतिसेयर नेथवर्थ १९९ रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड छ।
दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर मूल्य केहीदिन यता उच्च दरले बढेको छ।