असार लागेसँगै बैंकहरुमा निक्षेप बढेको छ। बैंकहरुले लगानीयोग्य रकमको अभाव झेलिरहेका बेला असार लागेपछि केही सुधार देखिएको हो।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरुमा असारको पहिलो हप्ता मात्रै १० अर्ब निक्षेप थपिएको छ। जेठ ३१ गतेसम्म बैंकहरुमा २७ खर्ब ५९ अर्ब निक्षेप संकलन भएकोमा असार ६ गतेसम्म २७ खर्ब ६९ अर्ब पुगेको छ।
यस अवधिमा कर्जा प्रवाह भने जम्मा एक अर्ब मात्रै गएको छ। जेठ ३१ सम्म कुल २४ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएकोमा असार ६ गतेसम्म २४ खर्ब ६९ अर्ब पुगेको छ।
असार महिनामा ठेक्कापट्टाको भुक्तानी हुने र विकासे कामको रफ्तार पनि बढ्ने हुँदा निक्षेप बढ्ने गरेको बैंकरको भनाई छ।
आर्थिक वर्ष ०७४/७५ को असारमा मात्रै बैंकहरुमा १ खर्ब १ अर्ब निक्षेप बढेको तथ्याङ्कले देखाउँछ। जुन रकम सो आर्थिक वर्षका अन्य महिनाको तुलनामा सबैभन्दा धेरै हो।
त्यस्तै आर्थिक वर्ष २०७३/७४ को असारमा १ खर्ब २३ अर्बले निक्षेप बढेको छ। सो आर्थिक वर्षका अन्य महिनाहरुमा निक्षेपको वृद्धिदर न्यून छ।