दोस्रो बजारबाट सेयर किन्न अब ८ ब्रोकर कम्पनीहरुले ऋण दिने भएका छन्। स्टक एक्सचेन्जले ८ कम्पनीहरुलाई यस्तो ऋण दिन सक्नेगरी ‘मार्जिन लेन्डिङ’को अनुमति दिएको हो। स्टक एक्सचेन्जका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले ती कम्पनीहरुलाई मार्जिन लेन्डिङको अनुमतिका लागि प्रमाणपत्र प्रदान गरे।
राष्ट्र बैंकबाट स्वीकृति लिइसकेका यी ब्रोकर कम्पनीहरुले अब सेयरमा कुल मूल्यको आधा रकम लगानीकर्तालाई दिन सक्नेछन्। करिब आधा रकम भने लगानीकर्ता आफूसँग हुनुपर्दछ। अर्थात कुनै कम्पनीको एक लाख रुपैयाँको सेयर किन्ने हो भने ५० हजार रुपैयाँ बढी ब्रोकर कम्पनीले ऋण सुविधा दिनेछन्।
एक्स्चेन्जका अनुसार मार्जिन लेन्डिङका लागि स्वीकृति पाउने कम्पनीहरुमा नेपाल स्टक हाउस, भिजन सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट, दिपशिखा र क्रिस्टल कन्चनजंगा छन्।
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले यही आर्थिक वर्षदेखि नै मार्जिन लेन्डिङको काम सुरु हुने जानकारी दिए। ‘बैंकहरुले दिने गरेको प्रचलित व्याजदरमै हामीले ऋण दिन्छौँ, धेरै महँगो हुँदैन।’
ब्रोकर कम्पनीहरुको आम्दानीको स्रोत सेयर किनबेचमा हुने कमिसन भएकाले आफूहरुले मार्जिन लेन्डिङबाट नाफा बढाउने उद्देश्य नलिइएको उनले बताए।
ब्रोकर कम्पनीहरुले आफ्नै पैसा वा बैंकबाट ऋण लिएर यो सुविधा दिन सक्नेछन्। मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ। ब्रोकरबाट लिने ऋण सुविधाबाट जुनसुकै कम्पनीको सेयर किन्न भने पाइने छैन।
कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध हुनेछ।
यसरी लगानी गरेवापत अवधिअनुसार सेयरधनीले ब्रोकरलाई पुरा रकम नतिर्दासम्म सेवा शुल्क तथा व्याज भने बुझाउनुपर्नेछ। मार्जिन कारोवार सुविधा उपलव्ध गराउँदा ब्रोकर कम्पनीले ग्राहकसँग सम्झौता गरी सुरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण लगायत शर्त र व्यवस्थाहरु भने व्यवसायीले खुलाउनुपर्नेछ।
यदी तोकिएको अवधिसम्म लगानीकर्ताले ऋण तिर्न नसकेमा उसको सेयर बिक्री गरेर असुल गर्न सक्ने अधिकार ब्रोकर कम्पनीमा रहन्छ।
हालसम्म ब्रोकरमार्फत मार्जिन सुविधा नहुँदा लगानीकर्तालाई सेयर धितो राखी बैंकमार्फत नै ऋण लिनुपर्ने बाध्यता रहँदै आएको छ। बैंकहरुमार्फत हालसम्म ४० अर्ब बढी रकम यस्तो कर्जा प्रवाह भएको छ।
बैंकहरुले धितो राखिने सेयरमा पछिल्लो ६ महिनाकोऔसत मूल्यको ६५ प्रतिशतसम्म यस्तो ऋण प्रदान गर्दै आएका छन्।