शेयर विक्री गर्दा ब्रोकर कम्पनीमा पुगेर ल्याप्चे लगाउन नपर्ने भएको छ। भारित औषत लागत गणना गर्ने नयाँ व्यावस्थालाई कायम गर्दै धितोपत्र बोर्डले इलेक्ट्रोनिक माध्यामबाटै कारोबार गर्न सकिने व्यवस्था गरेसँगै ब्रोकरकोमा पुगेर ल्याप्चे लगाउनु नपर्ने भएको हो।
धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज तथा अर्थ मन्त्रालयलाई यसअघिकै व्यवस्था अनुसार सिडिएससीको प्रणालीकै आधारमा भारित औषत लागत गणना गर्न सिफारिस गरेको छ । तर, प्रणालीले आधार मूल्य नखुलाएको अवस्थामा लगानीकर्ताले अनलाईन मार्फत भारित औषत गणना दाबी गर्न सक्नेछन् । यस्तो दाबी गर्दा लगानीकर्ताले सहायक कागजात भने पेस गर्नुपर्नेछ।
बोर्डले यस्तो सिफारिस गर्नुपुर्व नेप्से तथा सिडिएसको पछिल्लो कारोबारको तथ्याङकलाई आधार मानेर अध्यायन गरेको थियो। सोहि आधारमा संचालन समितिको उक्त सिफारिस गरेको हो।
यो सँगै लगानीकर्ताले ब्रोकर अफिसमा पुगेर खरिद विवरणको प्रमाणीकरणका लागि ल्याप्चे लगाउनु पर्दैन। गत हप्ता धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघ बीच भएको सर्वपक्षीय छलफलमा २०५८ साउन देखि आर्थिक वर्ष २०६५÷७६को अन्त्य सम्मको कारोबार भएको कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहि आधारमा भारित औसत गणना गर्ने सहमति भएको थियो । तर, धितोपत्र बोर्डको अहिलेको सिफारिसमा उक्त विषयमा कुनै निर्णय गरेको छैन।
लगानीकर्ता ब्रोकर कम्पनीमा पुगेर ल्याप्चे लगाउने प्रकृया अव्यबहारिक भएको भन्दै आन्दोलित थिए । गत साउन २२ मा अर्थ मन्त्रालयले यो समस्या समाधानको लागि धितोपत्र बोर्डलाई तीन दिन भित्र समस्या समाधान गर्न निर्देशन दिएको थियो । बोर्डले अर्थमन्त्रालयको समय सिमा भन्दा केही दिन ढिलो गरि प्रतिवेदन दिएको थियो।
तर, लगानीकर्ता भने बोर्डको यो निर्णबाट सन्तुष्ट देखिएका छैनन् । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बोर्डको निर्णय प्रति खुसी नभएको बताइन्। ‘ब्रोकरकोमा पुगेर ल्याप्चे लगाउन नपर्ने भएको छ त्यो राम्रो भयो,’ उनले भनिन्, ‘तर लगानीकर्ताले त्यतिमात्रै खोजेका थिएनन्, बोर्डको त्यो निर्णयका लागि यति लामो आन्दोलन गर्नुनै पर्दैनथ्यो ।’
बोर्डले यसअघिकै निर्णयमा कुनै परिवर्तन नगरेको उनको आरोप छ। ‘हामीले खरिद मूल्यमा हकप्रद शेयर र बोनस जोडेर आधार तयार गर्नुपर्छ भनेका थियौँ तर बोर्डले किनेको मूल्यलाई नै आधार मान्नुपर्छ भनेको छ’ पोखरेलले भनिन्, ‘यसले कुनै नयाँ कुरा भएन।’ उनी यसले शेयर बजारको अन्यौलता समाधान नगर्ने दाबी गरिन्।