अब शेयर किन्न इच्छुक लगानीकर्ताले पैसा अभावमा शेयर किन्नबाट बन्चित हुनु पर्दैन।
धितोपत्र बोर्डबाट केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को पाँचौं संशोधन स्वीकृत भएसँगै धितोपत्र सदस्य दलाल व्यवसायी (ब्रोकर) बाट ऋण लिएर शेयरमा लगानी गर्न पाइने भएको छ।
यसलाई मार्जिन कारोबार भनिन्छ।
धितोपत्र बोर्डले बिहीबारदेखि विभिन्न योग्यता पुगेका ब्रोकर कम्पनीलाई यो सुविधा दिएको छ।
अब शेयर लगानीकर्ताले ब्रोकर मार्फत शेयर कारोबारको लागि ऋण लिन सक्नेछन्। तर, यस्तो कारोबारको लागि छुट्टै खाता खोल्नुपर्ने हुन्छ।
यो सुविधा सबै ब्रोकरबाट उपलब्ध हुँदैन। मार्जिन कारोबार सम्बन्धी कार्यविधी, २०७५ मा ब्रोकरको योग्यताको विषयमा प्रष्ट पारेको छ।
ब्रोकरको कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको ब्रोकरले मात्रै ऋण दिन पाउने छन्।
यस्तै, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दस प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको , आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने छ।
यो शर्तहरु धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले परिवर्तन गर्न सक्ने छ। तर, योग्यता पुगेका सबै ब्रोकरहरु भने कारोबारको लागि बाध्य हुदैनन्।
अहिले सम्म मार्जिन ट्रेडिङको योग्यता पुगेका १४ ब्रोकर कम्पनीले मात्रै करोबारको मान्यता पाएका छन्।
यसरी मान्यता पाउनेमा क्रिस्टल कन्चन्जंघा सेक्युरिटी, सेक्योर्ड सेक्युरिटी, भिजन सेक्युरिटी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटी, श्रीकृष्ण सेक्योरिटी, कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटी, दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेको छ।
सुन्धारा सेक्युरिटी, डाइनामिक मनि सेक्युरिटी, आर्यतारा एन्भेष्टमेन्ट एन्ड सेक्युरिटी, दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटी, प्रज्ञान सेक्युरिटी तथा दिव्य सेक्युरिटी एन्ड स्टक हाउसले पनि मार्जिन कारोबार गर्न पाउने छन्।
ब्रोकर कम्पनीले मार्जिन कारोबारको गर्दा वा लगानीकर्तालाई ऋण दिदा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिन सक्ने छन्।
ब्रोकर कम्पनीले आफ्नो नेटवर्थको दुई गुणा सम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ।
यसरी गरिएको लगानीमा ब्रोकर कम्पनीले एक जनालाई बढीमा आफ्नो नेटवर्थको १० प्रतिशत सम्म मात्रै दिन सक्छ। तर लगानीकर्ताले भने आफुसँग भएको जम्मा रकम बराबरकै ऋण लिन पाउनेछ।
अर्थात् शेयर खरिद गर्दा लगानी कर्ताले ५० प्रतिशत रकम र ब्रोकर कम्पनीले ५० प्रतिशत लगानी गर्नेछ।
मार्जिन कारोबारको व्याजदर भने दुई पक्षको सहमतीमा तोकिने छ। यसको नियमन धितोपत्र बोर्डले गर्ने छ।
दुई पक्षले कारोबारको लागि सम्झौता गर्दा शुरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने शेयरको विवरण लगायतका शर्तहरु खुलाउनुपर्ने हुन्छ।
ब्रोकर कम्पनीले मार्जिन टे«डिङको अनुमति पाएपछि शेयर बजारमा सुधार आउन सक्ने धितोपत्र बोर्डको अनुमान छ ।
बोर्डका सहायक प्रवक्ता रुपेश केसीले भने, ‘शेयर किन्नको लागि ऋण पाइने भएपछि पक्कैपनि यसले शेयरको माग बढाउछ र बजार विस्तार हुन्छ।’
उनी यसले शेयर लगानीमा तरलता पनि सृजना गर्ने दाबी गरे। ‘ब्रोकरको कारोबार क्षेत्र पनि बढ्छ,’ उनले भने ।