झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सुत्केरी शेयर सदस्यलाई नगद उपहार प्रदान गर्दै आएको छ।
सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो। सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलालाई बचत गर्ने बानीको विकास गराउनसमेत सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद उपहार थालिएको सहकारीका अध्यक्ष भवानीप्रसाद दङ्गालले बताए।
'सुत्केरी अवस्थामा आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै पौष्टिक आहारका लागि जसले महिनामा जति रुपैयाँ बचत गर्नुहुन्छ, त्यत्तिनै रुपैयाँ सहकारीबाट दिन्छौँ,' उनले भने।
अध्यक्ष दङ्गालका अनुसार सहकारीमा आवद्ध महिलाहरुले सुत्केरी हुँदा न्यूनतम पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म उपहार पाएका छन्।
सहकारीले योसँगै नवजात शिशुको निःशुल्क खाता खोल्दै पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँ खातामा बचत गरिदिने गरेको अध्यक्ष दङ्गालको भनाइ छ। आव २०७५/७६ मा सहकारीमा आवद्ध ४१ महिला सुत्केरी भएको र उनीहरुलाई ७७ हजार रुपैयाँ सहकारीले सुत्केरी सुविधा प्रदान गरेको छ। त्यस्तै ४१ नवजात शिशुको निःशुल्क खाता खोल्दै ४९ हजार पाँच सय रुपैयाँ बचत गरिदिएको अध्यक्ष दङ्गालले बताए।
त्यसो त कुनै पनि गर्भवती महिलाको स्वास्थ्य संस्थामा प्रसूति गराए सरकारले प्रोत्साहनस्वरूप आर्थिक सहयोग गर्ने गरेको छ। तर सहकारीले समेत आफ्ना शेयर सदस्यका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गरेपछि ग्रामीणदेखि सहरसम्मका महिलालाई प्रत्यक्ष फाइदा पुग्ने गरेको छ।
सहकारीमा आवद्ध सदस्यको मृत्यु भएमा समेत सहकारीले ऋण मिनाहा गर्दै आएको छ। परिवारलाई आर्थिक भारबाट मुक्त गराउन सहकारीले सदस्यको मृत्यु भएमा सबै ऋण मिनाहा गर्दै आएको सहकारीका अध्यक्ष दङ्गालले बताए।
आव २०७५/७६ मा सहकारीमा आवद्ध पाँच जनाको निधन हुँदा चार लाख २८ हजार पाँच सय ९७ रुपैयाँ ऋण मिनाहा भएको अध्यक्ष दङ्गालले बताए।
'कनकाई नगरपालिका–७ निवासी पूजा दाहाल सापकोटाको श्रीमानको निधन हुँदा एक लाख १४ हजार आठ सय ४५ र कनकाई–३ कै आशिवा खातुनको श्रीमानको निधन हुँदा एक लाख ७५ हजार रुपैयाँ ऋण हामीले मिनाहा गरिदिएका छौँ,' उनले भने।
सहकारीले उनीहरुजस्तै विर्तामोड–५ निवासी लीला सिंहको श्रीमानको निधन हुँदा ४३ हजार सात सय १०, भद्रपुर–७ निवासी भोटलाल गणेशकी श्रीमतीको निधन हुँदा ६९ हजार पाँच सय २३ र शिवसताक्षी–११ का चोले मेचेकी श्रीमतीको निधन हुँदा २५ हजार चार सय ९७ रुपैयाँ ऋण मिनाहा गरेको बताइएको छ।
जिल्लामा सञ्चालित अधिकांश सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तैखाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा विपन्न समुदायका महिलालाई सबैभन्दा बढी फाइदा पुग्ने गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बताए।
'झापाका सबैजसो महिला कुनै न कुनै सहकारीमा आवद्ध छन्। यसबाट उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहकारीबाट सेवा लिएका छन्,' उनले भने।
विर्तामोड नगरपालिकाभित्रै रहेको अर्का एक सहकारीले विर्तामोड नगरभित्र भित्रिएका नव दुलहीलाई एक हजार उपहार प्रदान गर्दै आएको छ। दुलाहा वा उनको परिवार विर्तामोडमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएको हुनुपर्छ। सहकारीमा सबै दुलहीलाई आवद्ध गराउँदै स्वावलम्बी बनाउन सहकारीले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ।
विवाहमा हुने फजुल खर्चलाई घटाउँदै बचत गर्ने बानीको विकासका लागि सहकारीले नव दुलहीलाई सहकारीमा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ बचत गर्ने कार्यक्रम अघि सारेको सहकारीका अध्यक्ष डम्बर विमलीले बताए। त्यस्तै सहकारीमा आवद्ध शेयर सदस्य भएका घरभित्र सुत्केरी भएका नाबालकको नाममा निःशुल्क खाता खोल्दै एक हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रमसमेत सहकारीले सुरु गरेको अध्यक्ष विमलीको भनाइ छ।
यसबाट बालबालिकाको भविष्य सुरक्षित हुने र बचत गर्ने बानीको विकासले भावी दिनमा फाइदा पुग्ने सहकारीले लक्ष्य लिएको विमलीले बताए। रासस