साताको दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजार तेस्रो दिन मंगलबार भने बढेको छ। दुई दिनमा ३४.०५ अंकले घटेको बजार मंगलबार भने एकै दिनमा २६.९१ अंकले बढेको हो।
११२३.८४ अंकबाट कारोबार सुरू भएको बजार आजै ११५०.७४ अंकमा पुगेर बन्द भयो ।
एक्कासि किन बढ्यो त बजार?
शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल नेप्से अचानक बढ्नुको दुई कारण रहेको बताउँछन्।
‘पहिलो कारण शेयर बजारका लगानी कर्ताको सम्पत्ती शुद्धीकरणको हल्लाले बजारमा नकारात्मक सन्देश गएको थियो, सरकारले त्यसलाई तीन महिना पछि सारेको छ त्यसले गर्दा बजार सकारात्मक देखियो,’ अर्यालले भने, ‘अर्थमन्त्रीको भाषणले पनि शेयर बजारमा उछाल ल्यायो।’
पछिल्लो समय नेपाली शेयर बजारमा कालो धन लगानी भएको भन्ने चर्चा चलिरहेको छ। त्यसले गर्दा पनि शेयर बजार गिरावट आएको अर्याल बताउँछन्। तर उनी भने शेयर बजारमा कालो धन रहेको अस्वीकार गर्छन्।
यस्तै, अर्थमन्त्री डा.युवराज खतिवडाले एक सार्वजनिक कार्यक्रममै अहिले बजार निकै घटेकाले यो बेलामा नयाँ लगानीकर्तालाई शेयरबजारमा लगानी गर्न आह्वान गरेका थिए।
उनले अब शेयर बजारमा सन्चय कोष तथा नागरिक लगानी कोषलाई समावेश गर्ने समेत बताए। यसैले गर्दा पनि लगानीकर्ता शेयर बजार प्रति उत्साहित भएको अर्यालको बुझाइ छ।
आज नेप्से अंक बढेपनि कारोबार रकममा भने त्यस्तो उत्साह देखिएको छैन।
दिनभरिमा १७१ कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर कारोबार हुदाँ ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भयो।
नेप्से अंक बढेसँगै उपसूचकहरु पनि सकारात्मक भएका छन्।
आज सबैभन्दा बढी उत्पादन समूह १०७.१ अंकले बढ्दा, जीवन बीमा १०२.९३, निर्जीवन बीमा शेयर ८८.५७ तथा होटल समूह ५७.७९ अंकले बढ्यो।
यस्तै, बैंकिङ २१.०७, विकास बैंक २६.७७, जलविद्युत ३९.५, फाइनान्स ८.४६, फाइनान्स ३०.२ तथा अन्य उपसूचक २०.२६ अंकले बढ्यो। तर आज म्युचुअल फन्ड भने झिनो अंकले घट्यो।
आज सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर कारोबार भयो। बैंकको दिनभरिमा ३ करोड ४९ लाख ७७ हजार रुपैयाँको शेयर किनबेच हुदाँ दोस्रोमा नेपाल बैंक लिमिटेडको ३ करोड ५ लाख ९७ हजार रुपैयाँको कारोबार भयो।
मंगलबार सबैभन्दा बढी कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ता छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।