नेप्से परिसूचक पछिल्लो दुई दिनमा करिब ५० अंकले बढेको छ। मंगलबार २६.९१ अंकले तथा बुधबार बुधबार २२.६८ अंकले नेप्से बढेको हो। दुई दिनमा ४९.६ अंकले बढेर ११७३.४३ मा पुगेको छ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ४.१३ अंकले बढेर २५५.७० अंकमा पुगेको छ।
नेप्से अंक बढेसँगै काराेबार रकम पनि बढेको छ। आज १ सय ७१ कम्पनीका १३ लाख ४५ हजार ८ सय ७७ कित्ता शेयरको खरिद बिक्री हुँदा ४७ करोड ६८ लाख ३३ हजार रुपैयाँको कारोबार भयो।
मंगलबार ३७ करोडको कारोबार भएको थियो।
आज सबै उपसूचकहरु सकारात्मक देखिएका छन्। सबैभन्दा बढी जीवन बीमाको सुचक १७१.९ अंकले बढेको छ। यस्तै निर्जीवन बीमा १४३.०८ अंकले, उत्पादन समूह ७३.८४ अंकले, होटल ६९.४८ अंकले तथा माइक्रोफाइनान्स ३२.५१ अंकले बढेका छन्।
सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। सिमेन्टको मात्रै ६ करोड २४ लाख २७ हजारको कारोबार भयो। यस्तै, दोस्रोमा सिद्धार्थ बैंकको शेयर ४ करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
आज सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सबैभन्दा बढी गुमाउनेमा कर्णाली विकास बैंकका लगानीकर्ता छन् ।