राष्ट्रिय बीमा संस्थानले दिने जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुन् भएको छ । पूर्ण सरकारी स्वामित्वको कम्पनीले बीमक र बीमितहरुका लागि हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो ।
‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन बाट कम्पनीका सबै स्किम थाहा पाइने छ। यसबाट बीमा संस्थान र संस्थानका बीमा योजना बारेमा जानकारी लिन, बीमा गराउनका लागि संस्थानको कार्यालय धाउन नपर्ने भएको छ । नयाँ बीमा गराउन चाहने सर्वसाधारणले बैंक मार्फत भुक्तानी गरेर सोही एप्समार्फत नै प्रक्रिया अघि बढाउन सक्ने छन् ।
मोबाइल एप्सको प्रयोगबाट नयाँ ग्राहाकहरु (साउन एक गतेदेखि संस्थानमा संलग्न रहेका ग्राहकहरु) ले सेवा लिन सक्ने छन् भने पुराना ग्राहकहरुको विवरण यही आर्थिक वर्ष भित्रमा एप्समा अपलोड गरी सक्ने संस्थानको भनाई छ । एप्समा विवरण अपलोड गर्ने काम सकिए पश्चात् पुराना ग्राहकहरुलाई समेत युजर पासवर्ड उपलब्ध गराउने संस्थानको योजना रहेको छ ।
तत्कालका लागि एप्समा डिजिटल पेमेन्ट सिस्टम नरहेको र चाँडै नै प्रयोगमा ल्याउने र सोही मार्फत प्रिमियम भुक्तानी गर्न सकिने संस्थानले जनाएको छ । तत्काललाई भने रकम भुक्तानी गर्न बैंकमा रकम जम्मा गरेर भौचरको प्रयोग गरी भुक्तानी पुरा गर्न सकिने छ ।
केही समयका लागि एन्ड्रोइडका युजरहरुले प्रयोग गर्न सक्ने गरी ल्याइएको मोबाइल एप्स पछि एप्पलका लागि पनि बनाइने संस्थानले जनाएको छ ।