साताको पहिलो तीन दिनमा ६२ करोड २४ लाख ९८ हजारको शेयर कारोबार भएको छ। अगिल्लो हप्ता पाँच दिनमा १ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यो हप्ताको तीन दिनले भने निकै निराशाजनक अवस्था देखाएको छ।
कारोबार रकम घटेसँगै नेप्से सुचक पनि ओरालो लागेको छ। तीन दिनमा नेप्से ११५५ अंकबाट २१ अंक घट्दै ११३४.५७ अंकमा पुगेको छ।
सातको पहिलो दिन आइतबार जम्मा २२ करोड ६९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। उक्त दिन शेयर बजार १६ अंकले घट्यो।
दोस्रो दिन भने नेप्से सुचक सकारात्मक देखियो। तर, कारोबार भने १७ करोड ७२ लाख ७० हजारमा सिमित भयो। यस्तै तेस्रो दिन आज पनि बजार ६.४२ अंकले घट्यो भने कारोबार २१ करोड ८२ लाख ७८ हजार रुपैयाँको भयो।
गत हप्ता अर्थमन्त्री डा युवराज खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा लगानीका लागि आर्कषित गरेका थिए। विभिन्न सार्वजनिक कार्यक्रममा उनले शेयर बजार निकै तल झरेको भन्दै अहिले लगानी गरे प्रतिफल राम्रो हुने बताएका थिए।
उनको अभिव्यक्तिले दुई दिन भने शेयर बजारमा छलाङ ल्यायो। दुई दिनमा शेयर बजारमा झन्डै ५० अंकको उछाल आयो। तर, त्यो उत्साह तेस्रो दिन भने देखिएन। त्यसपछि भने शेयर बजारमा लगातार निराशा देखिएको छ।
लगानीकर्ता भने चाडपर्व नजिकिएको कारणले गर्दा कारोबारमा कमी आएको बताउँछन्। लगानीकर्ता जमुना दगालभन्छिन्, ‘अगिल्लो वर्षहरुमा पनि चार्डपर्वको मुखमा कारोबारमा कमी आएको थियो, यो वर्ष पनि त्यस्तै भयो।’ उनी मानिसहरु शेयरमा भन्दा यो समयमा अन्यत्रै खर्च बढी गर्ने भएकाले पनि कारोबार रकम घटेको तर्क गर्छिन्।
नेपाल पूँजीबजार लगानी कर्ता सङ्घी अध्यक्ष राधा पोखरेल पनि चाडपर्वकै कारण शेयर बजार सुस्ताएको बताउँछिन्।
‘पछिल्लो समय शेयर बजार निरन्तर ओरालोनै लागिरहेको छ,’ उनले भनिन्, ‘त्यसमाथि चाडपर्व नजिकिनुले पनि कारोबारमा कमी ल्याएको छ।’
उनी लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले पनि बजार सुस्ताएको तर्क गर्छिन्। ‘अहिले बजार निकै घटेकाले बेच्नेले मूल्य बढ्ला र बेचौला भनेर कुर्नु र किन्नेले पनि बजार अझै घट्ला र किँनौला भन्ने सोचेर बसेका छन्, त्यसैले कारोबार निकै घटेको छ,’ उनले भनिन्।