लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुमा एक सातामै ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
दोस्रो त्रैमासिक अवधि (असोज) सकिँदा निक्षेपकर्ताको खातामा व्याज थपिएकाले निक्षेप रकम बढेको हो। बैंकहरुले तीन–तीन महिनामा निक्षेपकर्ताको खातामा बचको व्याज जम्मा गरिदिँदै आएका छन्।
असोज २४ गते सम्म वाणिज्य बैंकहरुमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १ गतेसम्म कुल २९ खर्ब ७१ अर्ब रुपैयाँ जम्मा भएको छ।
एक साताको अवधिमा कर्जा प्रवाह २३ अर्बले बढेको छ। असोज २४ गतेसम्म वाणिज्य बैंकहरुले २६ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेकोमा कात्तिक १ सम्म २६ खर्ब २६ अर्ब प्रवाह भएको छ।
यस आर्थिक वर्षको कात्तिक १ गतेसम्म ९३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। असार मसान्तसम्म वाणिज्य बैंकहरुमा २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो।
सोही अवधिमा कर्जा प्रवाह भने १ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ। असार मसान्तसम्म २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो।