मेगा बैंकले लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ। कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरेका हुन्। कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति थियो ।
मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए।
बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताइन।