लामो समय पछि शेयर बजार बढेको छ। सोमबार बजार १३.७७ अंकले बढेर ११४५.५७ अंकमा पुगेको छ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ३.२८ अंकले बढेर २५२.२९ अंकमा पुगेको छ।
यस्तै आज कारोबार रकममा पनि वृद्धि भएको छ। दिनभरिमा १७५ कम्पनीको १९ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ५४ करोड ९९ लाख ८२ हजारको कारोबार भएको छ।
विगत दुई महिनामा शेयर कारोबारमा निकै गिराबट आएको थियो। गत भदौ १७ मा ५१ करोडको कारोबार भएको थियो। त्यसपछि ५० करोड बढीको कारोबार भएको यो पहिलो पटक हो।
आजै मात्र लाभांश घोषणा गरेको एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा बढी देखिएको छ। बैंकको १३ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।
यस्तै दोस्रोमा प्रभु बैंकको ७ करोड ३३ लाख ६८ हजारको शेयर किनबेच भयो।
शेयर बजारमा हरियाली भएसँगै उपसूचक पनि बढेका छन्। आज अन्य बाहेकका सबै उपसूचक सकारात्मक देखिएका हुन्
सबैभन्दा बढी जीवन बीमाको सूचक बढेको छ। जीवन बीमाको शेयर ७९.०२ अंकले बढ्दा निर्जीवन बीमा ६७.५३, उत्पादन समूह ५५.७१, होटल ३१.९३ तथा माइक्रोफाइनान्स ३०.७५ अंकले बढेको छ।