साताको पहिलो दिन सेयर बजारको परिसूचक ४२.६१ अंकले बढेको छ। पछिल्लो समय लगातार बढ्दै गएको परिसूचकले आइतबार भने छलाङ मारेको छ।
१ सय ७९ कम्पनीको दिनभरमा १ अर्ब ३३ करोड सेयरको कारोबार भयो। आज ३८ लाख ३१ हजार ५४ कित्ता शेयर किनबेच भयो। आजको कारोबारपछि नेप्से १२५५ अंकमा पुगेको छ।
बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बजारमा कारोबार रकमसँगै परिसूचक बढेको हो। नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ। त्यसैको सकारात्मक प्रभाव शेयर बजारमा परेको विश्लेषकहरु बताउँछन्।
केही दिन यता बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र बैंकहरुले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा शेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक बढेको उनीहरुको तर्क छ।
कारोबारमा आएका सबै समूहका उपसूचकहरु पनि बढेका छन्। शेयर विश्लेषक रुक्मागत काफ्लेले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताए।
नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतसम्म मात्रै किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गरेपछि बैंकहरुले शेयर धितोमा कर्जा बढाउँदा नेप्सेमा सकारात्मक प्रभाव परेको उनले बताए।
सन्तोष बजगाईंले बैंकमा तरलता बढ्दै जानु र ब्याजदर कम हुन एउटा कारण भएपनि बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांश तत्काल लगानीकर्ताको खातामा पठाउँदा शेयर बजारमा प्रभाव परेको तर्क गरे।
शेयर बजारलाई सकारत्मक प्रभाव पर्ने गरी राष्ट्र बैंकका नीतिहरु आउनुले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाई छ। बजारमा उच्च वृद्धि हुँदा आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८८ लाख रुपैयाँको भएको छ।
त्यस्तै १० कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् । बजारमा उच्च वृद्धि हुँदा समेत माउण्टेन हाइड्रो, सिनर्जी पावर डेभलोपमेन्ट लगायतका कम्पनीका शेयरधनीले भने गुमाएका छन्।