पछिल्लो हप्तादेखि बढीरहेको शेयर सूचक आज वर्षकै उच्च विन्दुमा पुगेर रोकिएको छ। आइतबार सूचक ३३.४३ अंकले बढेर १३४३.६५ अंकमा पुगेर बन्द भयो। सूचकसँगै कारोबार रकम पनि बढेको छ।
आज एकैदिनमा २ अर्ब ९ करोड ८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो। यो वर्षकै उच्च रकम हो। यसअघि गत वर्ष फागुन २ गते एकैदिनमा २ अर्ब १६ करोडको कारोबार भएको थियो।
त्यसो त नेपाली शेयर बजारको इतिहासमा सबैभन्दा उच्च कारोबारको किर्तिमान तीन वर्ष अघि भएको थियो । सन् २०१६ मा नेपालको शेयर बजारमा २ अर्ब ७५ करोडको कारोबार भएको थियो।
पछिल्लो समय शेयर बजारमा ट्रेन्ड हेर्दा यो वर्ष पनि शेयर सूचक उच्च हुने संकेत देखिन्छ। विश्लेषकहरु पनि शेयर सूचक बढ्ने अनुमान गरिरहेका छन्।
आइतबार ट्रेडिङ बाहेक अन्य सबै उपसूचक बढेका छन्। सबैभन्दा बढी जीवन बीमाको सूचक ४०३.२५ अंकले बढेको छ भने निर्जीवन बीमाको शेयर ३३७.०२ अंकले बढेको छ।
यस्तै, बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत ४५.४६, फाइनान्स ३५.१६ र उत्पादन उपसूचक ५९.९४ अंकले बढेको छ। यस्तै, अन्य उपसूचक १२.३६, माइक्रोफाइनान्स ३२.०६ र म्युचुअल फण्ड ०.५४ अंकले बढेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको कारोबार भयो। हिमालयनको १२ करोड १५ लाखको कारोबार भयो भने शिवम् सिमेन्टको शेयर १० करोडको भयो।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक तथा एनआइसी एसियाको उच्च कारोबार भएको छ।