भारतीय निजी क्षेत्रको ‘यस बैंक’ संकटमा परेको छ। बैंकका संस्थापक तथा पूर्व सिइओ राणा कपुरले बैंकलाई संकटग्रस्त पारेको आरोपपछि उनलाई सिबिआईले पक्राउ गरेको छ।
साथै मुम्बईस्थित घरमा खातलासी गरी सम्पूर्ण कागजातपत्र नियन्त्रणमा लिइएको छ भने उनलाई देशबाहिर जान प्रतिवन्ध लगाइएको छ।
बैंक संकटग्रस्त भएपछि शाखाहरुमा रकम झिक्नेको लाइन छ। भारतीय रिजर्भ बैंक (आरबिआई)ले यस बैंकलाई सम्पूर्ण रुपमा नियन्त्रणमा लिएको छ।
सो बैंकका एक ग्राहकले मासिक ५० हजार रुपैयाँसम्म जुनसुकै बैंकका एटिएमबाट पनि झिक्न पाउने व्यवस्था गरिएको छ।
यो व्यवस्थापछि रकम झिक्नेलाई केही राहत पुगेको छ। यद्यपी आफूले बैंकमा राखेको सम्पूर्ण रकम झिक्न नपाउँदा चिन्ता प्रकट गरेका छन्।
यस बैंकले डिएचएफएल कम्पनीलाई दिएको ऋणस्वरुपको रकम नउठ्ने अवस्था आएपछि खराब कर्जामा परिणत भएको हो।
बैंकले डिएचएफएल कम्पनीलाई ३ हजार ७ सय करोड रुपैयाँ ऋणपत्र खरिद गरी प्रवाह गरेको छ।
डिएचएफएलबाट राणाका छोरीहरु राधा र रोशनीको शत प्रतिशत स्वामित्व रहेको डिओल्ट कम्पनीसहित अन्य विभिन्न नामका कम्पनीमा ऋण प्रवाह भएको छ। डिओल्ट कम्पनीले मात्रै ६ सय करोड रुपैयाँ ऋण लिएको छ।
ती कम्पनीहरुबारे सिबिआईले खोजतलास गरिरहेको छ।
डिओल्ट कम्पनीले सन् २०२३ सालसम्म पुरा ऋण चुक्ता गर्ने जनाएको छ। डिएचएफएलले अन्य खडा गरिएका कम्पनीहरुमा गरेको लगानी जोखिममा छ।
भारतीय अदालत इडीले राणाकी श्रीमती बिन्दु कपुरसँग आइतबार वयान लिएको छ। तीन छोरीहरु राखी, रोशनी र राधाका घरमा सिबिआईले खानतलासी गरेको छ भने उनीहरु जोडिएका थप कम्पनीहरुबारे अनुसन्धान भइरहेको छ।
संकटग्रस्त बैंकलाई अघि बढाउनका लागि एसबिआई बैंक इच्छुक देखिएको छ। कम्तीमा २६ प्रतिशत सेयर ३ वर्षसम्मका लागि लिएर आफ्नो योजनाअनुसार संचालन गर्न चाहेको एसबिआईका अध्यक्ष रजनिशकुमारले बताएका छन्।
एसबिआईले ४९ प्रतिशतसम्म सेयर लिन तयार रहेको जनाएको छ। बैंकलाई संकटबाट पार लगाउन २० हजार करोड रुपैयाँ जरुरत रहेको औंल्याउँदै उनले पुर्नसंरचनाको ड्राफ्ट तयार भएको र एसबिआईको टिमले नै बैंक संचालन गर्नुपर्ने बताएका छन्।
उनको ड्राफ्ट आरबिआईले हेरेर उपयुक्त ठानेमा जिम्मा लगाउन सक्नेछ। साथै आरबिआईले बैंकमा भएको सबैको रकम पूर्ण रुपमा सुरक्षित रहने बताएको छ।
आगामी ३ अप्रिलसम्म आरबिआईले यस बैंकलाई अघि बढाउन इच्छुक निजी ऋणदातालाई याेजनासहित आवेदनकाे लागि समयावधि दिएको छ।