मंगलबार सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको छ। ११ बजे कारोबार खुलेदेखि ओरालो लागेको नेप्सेमा १ घण्टा नबित्दै ११ः ५९ मा पहिलो सर्किट ब्रेक लाग्यो।
अघिल्लो दिनको तुलनामा १ घण्टाभित्रै ४ प्रतिशतले बजार घट्दा वा बढ्दा पहिलो सर्किट ब्रेक लाग्ने व्यवस्था छ। २० मिनेट कारोबार स्थगित भएपछि खुलेको बजार पुनः ओरालो गतिमा लाग्यो।
नेप्सेमा ५ प्रतिशतको गिरावट वा वृद्धि हुँदा दोस्रो सर्किट ब्रेक लाग्छ। ओरालो गति नथामिएपछि १२ः ३१ बजे दोस्रो सर्किट ब्रेक लाग्यो।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट कारोबार स्थगित गरियो। त्यसको दुई मिनेटमै थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशतले बजार खसेपछि यस दिनका लागि कारोबार नै स्थगित भयो।
यस दिन ८६ अंकले नेप्से घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक १३४९ अंकमा झरेको छ। यस दिन १ अर्ब ७ करोड रुपैयाँको मात्रै सेयर किनबेच भयो। १६१ कम्पनीको २७ लाख ३५ हजार कित्ताको कारोबार भयो।
सबै समूहहरु ओरालो लागेका छन्। बैंकिङ ८३, व्यापार ६७, होटल १२०, विकास बैंक ९१, जलविद्युत ३८, फाइनान्स २०, निर्जीवन बीमा समूह ३६२ अंकले घटेका छन्।
त्यस्तै उत्पादन १२६, अन्य २९, माइक्रोफाइनान्स १०२ र जीवन बीमा समूह ७६२ अंकले घटे।
कारोबारका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थामा रह्यो। सो कम्पनीको ८ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भयो।
त्यस्तै एनआइसी एसिया बैंकको ८ करोड २० लाखको कारोबार भयो। एनएमबि, नविल, ग्लोबल आइएमई कारोबारका आधारमा उत्कृष्ट पाँच भित्र पर्न सफल भए।
नेको इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो। एभरेष्ट इन्स्योरेन्स, एसबिआई बैंक, नेसनल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, स्टान्डर्ड चार्टड र साल्ट ट्रेडिङको मूल्य साढे ९ प्रतिशत बढीले घट्यो।
यस दिन म्युचुअल फण्ड एनआइबिएल समृद्धि फण्डको मूल्य ३. ७ प्रतिशतले बढ्यो। त्यस्तै आरएमडिसीको मूल्य १. ९ प्रतिशतले बढेको छ।
किन खस्यो बजार ?
धेरैजसो लगानीकर्ता बजार बढेपछि अहिले करेक्सन भएको बताउँछन्। फागुन १५ देखि बजार तीव्र गतिमा ओरालो लागेको छ।
सो दिन नेप्से परिसूचक १६३२ अंकसम्म पुगेको थियो। आज १३४९ मा झरिसकेको छ। आफूलाई ‘विश्लेषक’ भन्न रुचाउने केहीले बजार बुलिस ट्रेन्डमा लागेको भन्दै हल्ला गर्न थाले। जुन हल्लाले फागुन १५ अघिसम्मको बजारको उकालो गति अनपेक्षित रह्यो। फागुन १५ अघिसम्म निरन्तर बजार बढ्यो। मूल्य बढेपछि नाफा बुक गर्ने लगानीकर्ता बढ्न थाले, बजार करेक्सन भयो।
तर यतिबेला भने कतिपयमा त्रास नै बढेको केहीको बुझाई छ। ‘अन्तर्राष्ट्रिय बजारहरु घटिरहेका छन्, कोरोना भाइरसले चीन र भारतसहितका मुलुकको अर्थतन्त्रमा असर पार्ने अवस्थाले नेपाललाई पनि प्रभाव पर्छ नै’ एक लगानीकर्ताले भने ‘त्यसमा पनि कतै नाकाबन्दीकै अवस्था सिर्जना हुने हो कि भन्ने त्रासले बजारमा अहिले धेरै नै गिरावट आएको हो।’