आकारका हिसाबले भारतको अर्थतन्त्र ठूलो भएपनि पछिल्लो समय विभिन्न समस्याहरु देखिँदै आएका छन्।
पछिल्लो समय भारतीय अर्थतन्त्र शिथिल हुँदै गएका बेला निजी क्षेत्रको एउटा ठूलो यस बैंक संकटमा गुज्रिएको छ।
बैंक समस्याग्रस्त भएसँगै भारतको केन्द्रीय बैंक आरबिआईले यस बैंकको व्यवस्थापन सम्हालेको छ। संभवत केन्द्रीय बैंकले यो बैंकको जिम्मेवारी सरकारी स्वामित्वको स्टेट बैंक अफ इन्डिया (एसबिआई)लाई दिनेछ।
एसबिआईले यस बैंक सम्हाल्ने गृहकार्य भएयता भारतीय स्टक मार्केटमा एसबिआईको मूल्य घटिरहेको छ भने यस बैंकको बढिरहेको छ। बुधबार मात्रै यस बैंकको सेयर मूल्य ३५ प्रतिशतले बढेको छ।
यसको मूल्य प्रतिकित्ता २८ रुपैयाँ पुगेको छ। उता जिम्मेवारी सम्हाल्न खोजेको एसबिआईको मूल्य भने ८ प्रतिशतले घटेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता २ हजार २ सय २६ रुपैयाँ छ।
एसबिआईले यस बैंकको ४९ प्रतिशत सेयर स्वामित्व खरिद गर्नेछ।
स्थापनाको १६ वर्षमै सफलताको सिढी चढेको यस बैंक एक्कासी कसरी समस्याग्रस्त भयो? यो बैंकको संकटपूर्ण अवस्था बाहिर आएसँगै सर्वसाधारण पैसा निकाल्ने लाइनमा छन् भने अर्कोतिर यसका संस्थापक राणा कपुर अनुसन्धानको घेरामा तानिएका छन्।
आखिर कसरी भयो यस्तो ?
जब केन्द्रीय बैंक आइरबिआईले सञ्चालक समितिमा अतिरिक्त निर्देशका रुपमा आफ्नो प्रतिनिधि खटायो त्यतिबेला बल्ल बैंकको समस्या प्रखर भयाे।
सुनचाँदीको पुर्ख्यौली व्यवसायमा रहेका राणा कपुरले अमेरिका अध्ययनकै क्रममा बैंकिङ करियरको सुरुवात गरे। उनले अमेरिकामा बैंकको काम गरेपछि भारत फर्किए। त्यसपछि सन् २००४ मा उनले यस बैंक स्थापना गरे।
आफ्नै नातेदार अशोक कपुरसँग मिलेर राणाले ‘यस’ अर्थात् नाइ नभन्ने नारासहित बैंक स्थापना गरे।
बैंक व्यवसाय विस्तारका लागि यति आक्रामक भयो कि स्थापनाको साढे एक दशकमै भारतको छैंठौ ठूलो बैंक बन्न सफल भयो। स्थापनाकालदेखि सन् २०१८ सम्म राणाले बैंकको नेतृत्व लिए।
सबैको ‘यस बैंक’ बनाउन उनले नै नेतृत्वदायी भूमिका निर्वाह गरे। यस बैंककै स्थापनापछि ग्रामीण क्षेत्रसम्म ऋणको पहुँच बढ्न गयो।
भारतको बैंकिङ क्षेत्रमा ‘कसैले ऋण नदिए पनि राणा कपुर अर्थात यस बैंकले दिन्छ भन्ने भनाइ चर्चित थियो। यस अर्थात् नाइ नभन्ने बैंकले सायद यसैगरी ऋण दिँदै गयो। बचत पनि उत्तिकै संकलन गर्दै गयो। आक्रामक व्यवसाय विस्तारको नीति पनि अहिलेको परिणामको एक कारक भएको हुनसक्ने कतिपयको बुझाइ छ।
राणा कपुर ऋण दिन मात्र होइन, ऋण उठाउन पनि उत्तिकै माहिर थिए। उनका बारेमा ऋण उठाउनेसम्वन्धी पनि कथन थियो, ‘ऋण कसरी उठाउनुपर्छ भन्ने कुरा राणा कपुरबाट सिक्नुपर्छ।’
उनले यो कुरा व्यवहारमा उतारेका पनि थिए। जतिबेला किङफिसर एयर डुबेको थियो। त्यसमा लगानी गरेका एसबिआइसहित अरु बैंक कसरी ऋण उठाउने भनेर अन्यौलमा थिए। तर कपुर ऋण उठाउन सफल भएका थिए।
जस्तोसुकै ऋण पनि उठाउने रणनीति कार्यान्वयनमा कपुर लामो समय टिक्न सकेनन् वा उनमा बदनियत देखियाे।
यतिबेला हजारौं बचतकर्ता उनीमाथि आक्रोशित छन्, राज्यले उनीमाथि वित्तीय अपराधको अनुसन्धान सुरू गरेको छ। बैंकको सम्पत्ति दुरुपयोग गरेको, ऋण दिंदा भ्रष्टाचार गरेको लगायत आरोपपछि सम्पत्ति शुद्धीकरणका विषयमा भारत सरकारले राणा कपुरको छानविन गरिरहेको छ।
सरकारी छानविनको प्रारम्भिक अनुसन्धानले राणाले आफ्नो नेतृत्वमा बदनियत राखेर ऋण प्रवाह गरेको देखाएको छ।
कंगाल भएका र हुने क्रममा रहेका कम्पनीहरुलाई ऋण दिएर उनले त्यसबाट लाभ लिएको देखिएको छ। बैंकका लागि मुख्यतः डिएचएफएल कम्पनीलाई दिएको ऋण नै भारी भएको छ। नउठेको कर्जालाई पनि अडिट रिपोर्टमा उनले सन्तुलित देखाउँदै आएका थिए।
डिएचएफएलबाट राणाका छोरीहरु राधा र रोशनीको शत प्रतिशत स्वामित्व रहेको डिओल्ट कम्पनीसहित अन्य विभिन्न नामका कम्पनीमा ऋण प्रवाह भएको छ। उनका तीन छोरीहरु छन्।
पछिल्ला छानविन विवरणअनुसार राणाले धितोको अधिमूल्यन गरेर पनि ऋण दिए। त्यसरी ऋण दिए बापत् उनको परिवारले चलाएका कम्पनीमार्फत उनले नै लाभ लिएको छानविनको निश्कर्ष छ।
सन् २०१४ मोदी सरकार आएपछि सरकारले ल्याएका हरेक आर्थिक तथा मौद्रिक नीतिको कट्टर समर्थक भएर निस्किएका कपुरले अन्ततः संस्थागत शुसासन तहसनहस पारेका छन्।
(भारतीय संचारमाध्यमको सहयोगमा)