अमेरिकी डलरको मूल्य ११९ पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिक्रीदर मूल्य ११९ रुपैयाँ ०४ पैसा तोकेको छ।
आजको मूल्य दोस्रो उच्च हो। यसअघि २०१८ अक्टोर १० का दिन डलरको बिक्रीदर मूल्य ११९ रुपैयाँ ३३ पैसा पुगेर उच्च रेकर्ड राखेको छ।
सो रेकर्ड पुनः तोडिन सक्ने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रमा कोरोना प्रभावले असर पार्ने देखिएपछि लगानीकर्ता डलर र सुनमा आकर्षित भएका छन्। जसले गर्दा दुवैको मूल्य बढिरहेको छ।
केही दिनअघि मात्रै अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर ०. ५ प्रतिशतले घटाएको छ। यसले अमेरिकी अर्थतन्त्र सबल रहेको जनाउँछ। लगानीकर्ताले कम प्रतिफलका बाबजुत डलरलाई सुरक्षित ठानेपछि डलरको मूल्य केही दिनयता बढिरहेको छ।
एक महिनाअघि डलरको बिक्रीदर मूल्य ११४ रुपैयाँ ५३ पैसा थियो।