दैनिक कारोबारको समय बढाएर ५ घण्टा कायम गरिएकै दिन सेयर बजारमा ठूलो गिरावट आएको छ।
सेयर बजारको परिसूचक नेप्से आइतबार ६४ अंकले घटेको छ। यस दिन कुल २ अर्ब १० करोडको सेयर किनबेच भयो। बजारको पुँजीकृत आकार १६ खर्ब ७८ अर्बमा झरेको छ।
यस दिन सबै समूहहरु ओर्लिएका छन्। बैंकिङ ५७, व्यापार ४३, होटल ५२, विकास बैंक ६२, जलविद्युत ३२, फाइनान्स २२, निर्जीवन बीमा समूह ४१६, उत्पादन ८०, अन्य १८, माइक्रोफाइनान्स ९३, जीवन बीमा समूह ६२१ अंकले ओर्लिएका छन्।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। सो कम्पनीको १७ करोड ३६ लाखको सेयर कारोबार भयो भने एनआइसी एसिया बैंकको ११ करोड १४ लाखको कारोबार भयो। एनएमबि, शिवम्, नेपाल बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
यस दिन तीन कम्पनीको मूल्य १ प्रतिशतमुनि बढेको छ। युनाइटेड मोदी, सिन्धु विकास र वमी माइक्रोफाइनान्सको मूल्य १ प्रतिशतमुनि बढ्यो। अरु सबै कम्पनीको मूल्य घटेको छ।
सामुदायिक लघुवित्त, हिमालय जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले घट्यो।
पछिल्लो समय कोरोनाभाइरसका कारण मुलुककै अर्थतन्त्र प्रभावित हुन सक्ने अनुमानले लगानीकर्तामा त्रास बढेको छ। त्यसमा पनि भूपरिवेष्ठित मुलुक नेपालमा आपूर्तिको अवस्था असहज हुन सक्ने अनुमानका बीच सेयर बिक्रीको चाप बढेको छ।