गत फागुन १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारकाे नियमित पत्रकार सम्मेलनमा चैतको ५ गतेभित्रै गभर्नर नियूक्त हुने बताए। उनले गभर्नरमा एक महिनाअघि नै नियूक्ति दिने चलन नभएको भन्दै व्यङ्ग्य गरे।
तर सरकारले ५ गतेभित्र गभर्नर नियूक्त गर्न सकेन। प्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपणका कारण पनि गभर्नरको नियुक्ति प्रक्रिया लम्बिएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन्।
डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बुधबारदेखि कायममुकायम गभर्नरको भूमिका निर्वाह गरेका छन्।
चिरञ्जिवी नेपालको ५ वर्षे कार्यकाल सकिएपछि रिक्त भएको गभर्नर पदमा को आउला भन्ने चासो वित्तीय क्षेत्रमा बढिरहेको छ। युवराज खतिवडाको कार्यकालपछि नेपाल गभर्नर भएका थिए।
गभर्नर पद रिक्त हुँदा धेरै कामहरु प्रभावित हुने बताउँछन् पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री। जतिसक्दो चाँडो गभर्नर नियुक्त हुनुपर्नेमा उनी जोड दिन्छन्।
सामान्य अवस्थामा पनि संकटपूर्ण अवस्थाजस्तो देखिएको उनले बताए। ‘अहिले कुनै पनि संकटपूर्ण अवस्था छैन, तर समयमै गभर्नर नियूक्ति नहुनु राम्रो हुँदैन’ उनले भने।
कतिपय अत्यावश्यकीय निर्णय गर्न पनि आँट नहुने भएकाले वित्तीय क्षेत्रमा नै त्यसले असर पार्न सक्ने उनी बताउँछन्।
‘शक्तिशाली गभर्नरजस्तो कायम मुकायमलाई आँट आउँदैन, ठूला ठूला निर्णय पनि हुँदैनन्, निर्णयमा हुने ढिलाईले वित्तीय प्रणालीमा असर पार्न सक्छ’ क्षेत्रीले सेतोपाटीसँग भने।
यतिबेला कोरोना भाइरस संक्रमणविरुद्धको तयारी मुलुकले गरिरहँदा वित्तीय क्षेत्रमा निर्णयविहीन अवस्था आउन सक्ने उनको भनाइ छ।
‘कोरोनाले व्यवसायमा असर परिसकेको छ, कतिपयले ब्याजदर सहुलियत वा अन्य वित्तीय सुविधाहरु माग्न थालिसके, तर गभर्नर पद नै रिक्त हुँदा कार्यान्वयन प्रक्रियामा असर पर्न सक्छ’ उनले भने।
अर्कोतर्फ राष्ट्र बैंकको निर्देशन मान्नुपर्ने बैंक तथा वित्तीय संस्थाहरुले समेत अटेर गर्न सक्नेछन्।
त्यस्तै नयाँ नोट छपाईमा समेत यसले असर पार्दछ। असामान्य अवस्थाबाहेक सामान्यतः कामु गभर्नरको नयाँ नोटमा हस्ताक्षर हुँदैन।
नयाँ गभर्नरको नियुक्ति गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा विशेष सिफारिस समिति बन्दछ। सो समितिले बाहलवाला एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाउँछ। तीन नाममध्येबाटै मन्त्रिपरिषद बैठकले गभर्नर छनौट गर्दछ।
अहिले कामु गभर्नरको जिम्मेवारीमा रहेका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि एक दावेदार हुन्। उनीसहित महाप्रसाद अधिकारी, मीनबहादुर श्रेष्ठ, राजन खनाल लगायत नामहरु चर्चामा छन्।