तपाईसँग भएको जुनसुकै बैंकको कार्ड अर्को कुनै बैंकको एटिएममा घुसाएर कारोबार गर्दा अब कुनै शुल्क नलाग्ने भएको छ।
कोभिड–१९ को त्रासले कारोबारमा असहज परिस्थिति सिर्जना नहोस् भन्ने उद्देश्यले नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल फाइनान्सियल इन्स्टिच्युसनको संयूक्त बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नगदको साटो विद्युतीय कारोबार बढाउन पनि यसले मद्दत पुग्ने बताए। नोटको कारोबार गर्दा पनि कोरोनाभाइरस सर्न सक्ने संभावना रहेकाले विद्युतीय कारोबारलाई बढाउन तीनै संघले आग्रह गरेका छन्।
सरकारले एक ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन र अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको थियो। बैंकहरुले सो निर्णयलाई कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै इन्टरनेट, मोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट हुने कारोबारमा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा कुनै शुल्क लाग्ने छैन।
अर्को सूचना जारी नगर्दासम्मका लागि यी सेवामा शुल्क नलाग्ने व्यवस्था गरिएको हो।
इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्यकुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत जानकारी गराउन र सेवा लिन पनि संघहरुले आग्रह गरेका छन्।
अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजान, भीडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन, जोगाउनका लागि पहल गर्ने तीन संघले आग्रह गरेका छन्।