मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम प्रदान गरेको छ।
मेगा बैंक सञ्चालक समितिले गरेको निर्णयअनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक प्रदान गरिएको हो।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक दिए।
यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक दिए।
मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको थियो। साथै सातवटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
अन्य प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ।
मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीकाअनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुले पनि व्यक्तिगत योगदान गरेका छन्।