पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा किरणकुमार श्रेष्ठले निरन्तरता पाएका छन्।
बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो। अब उनले २०८० चैत अन्त्यसम्म पुनः कार्यकारी अधिकृतको रुपमा बैंकलाई सम्हाल्नेछन्।
प्रमुख कार्यकारी अधिकृत पदमा पुन: नियुक्त भएपछि सेतोपाटीसँगको कुराकानीमा उनले बैंकमा गर्नुपर्ने केही महत्वपूर्ण जिम्मेवारी बाँकी रहेकाले आगामी दिनमा ती जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए।
'थप जिम्मेवारी पुरा गर्न संचालक समितिले मलाई जिम्मा दिएको छ, अबको ४ वर्षे कार्यकालमा ति जिम्मेवारीहरु पुरा गर्नेछु' उनले भने।
बैंकलाई अटोमेसन सिस्टममा ढाल्नुपर्ने र दरबन्दीभन्दा १ हजार ६० कर्मचारी कम रहेकाले नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले औल्याए।
हाल राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबैलाई उछिनेको छ। यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन सबैभन्दा उच्च हो।
यो एक नम्वर पोजिसनलााई कायम राख्ने श्रेष्ठले प्रतिबद्धता जनाए। यद्यपी कोरोनाको असरले यतिबेला चुनौति भने थपिएको उनले बताए।
यसअघि श्रेष्ठले ४ वर्षको कार्यकाल सम्हाल्ने बेला १६० शाखा रहेको राष्ट्रिय वाणिज्य बैंककाे अहिले २३९ पुगेको छ। उनले बैंक सम्हाल्दा कर्जा ८४ अर्ब रहेकोमा अहिले १६० अर्ब नाघेको छ।