सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तेह्रौं वार्षिकोत्सव भर्चुअल्ली सम्पन्न भएको छ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै बैंकले यसपालिको वार्षिकोत्सव भर्चुृअली मनाएको हो।
यस बैंकको आइतबार बसेको ३३२औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
सोही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरिएको छ।
यो प्रस्तुति बैंकको वेभसाइट तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत राखिएको बैंकले जानकारी गराएको छ।
हरेक त्रैयमासिकमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरे।
बैंकले निक्षेप योजना पनि सार्वजनिक गरेको छ। ३ महिनादेखि १० वर्षसम्मको अवधि तथा १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने बैंको भनाइ छ।
यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ। शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन्।
निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन्।
यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ।
भर्चुअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरे।
सिटिजन्स बैंकले ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदैं आएको छ।