राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक सम्पत्ति विवरणअनुसार सुन वा सुनको गहना करिब २७ तोला र ५० तोला चाँदी छ।
त्यस्तै आफू, श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंक खातामा १२ लाख २४ हजार ६ सय रुपैयाँ रहेको विवरणमा उल्लेख गरेका छन्। नगद, सुनचाँदीका अलवा उनले विभिन्न कम्पनीमा सेयर लगानी समेत गरेको विवरणमा उल्लेख छ।
कुल १ करोड ७ लाख रुपैयाँ उनले विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरेका छन्।
नविल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डु, इन्भेष्टमेन्ट, एनएमबि, ग्लोबल आइएमई, एनआइसी एसिया, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स, चिलिमे, सानिमा माई, माथिल्लो तामाकोसी लगायत कम्पनीमा उनको धितोपत्रवापतको लगानी छ।
मध्यतमोर कम्पनीमा ५० लाख ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख छ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकी श्रीमती सरिता अधिकारीको नाममा ललितपुरस्थित साविकको सैंबु गाविस ८ मा २२०० वर्गफिट क्षेत्रफलमा जग्गा/घर छ।
उनकै नाममा सैंबु वडा नम्वर ८ मा ०–१३–३–१ रोपनी जग्गा छ।
त्यस्तै श्रीमतीकै नाममा झापाको साविक सुरुङ्गा गाविस वडा नम्वर १ मा ०–१६–१८ बिघा, ०–१२–४ बिघा, ०–७–४ बिघा, १–५–४ बिघा जग्गा छ। झापाको जग्गा अंशबाट प्राप्त भएको विवरणमा उल्लेख छ।
उनको नाममा ललितपुरको छम्पी गाविसमा ४–१०–०–० रोपनी, सो गाविसमा २–१५–०–० र २–६–०–० रोपनी जग्गा पनि श्रीमती सरिताको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
महाप्रसादको नाममा मकवानपुरको हेटौंडा १ हटियामा ०–०२–०० कठ्ठा जग्गा छ।
हेर्नुस् सम्पत्ति विवरण - स्राेत राष्ट्र बैंक