कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित भए पनि सेयर बजारहरू निर्वाध सञ्चालन भइरहेका छन्। नेपालमा भने बन्द छ।
गत वर्ष चैत ११ देखि बन्द सेयर बजार बीचमा वैशाख ३० र ३१ गते दुई दिन खोलिएको थियो। पछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा बन्द गरियो। बोर्डका अध्यक्ष कोरोना संक्रमण फैलिने सम्भावना ज्यादा भएकाले दुई दिन खोलिएको बजार बन्द गरिएको बताउँछन्।
'बजार खोलेलगत्तै संक्रमण बढ्दै गयो। सरकारले सवारी पासलाई पनि कडाई गर्यो। मान्छे हिँडडुल गर्न पनि नपाउने भए। अनि बजार बन्द गर्नुपर्ने अवस्था आयो,' धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष भिष्मराज ढुंगानाले भने।
तर ढुंगानाले भनेअनुसार नै बजार खोल्ने र बन्द गर्ने अवस्था आएको भने होइन। बीचमा बजार खोल्ने र त्यसपछि बन्द गर्ने क्रममा कोरोना संक्रमण, मान्छेको आवतजावत अवस्था उही थियो। अझ बजार बन्द भएपछि कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो।
बजार बन्द गराउने धितोपत्र बोर्डको बहाना सही नभएको विश्लेषक देवेन्द्रराज उपाध्याय बताउँछन्।
'कोरोना संक्रमण र सेयर बजारको कारोबारमा कुनै सम्बन्ध छैन,' उनले भने, 'धितोपत्र बोर्डले नै कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रोटोकल पालना गर्ने गरी बजार खोलेको थियो। सरकारले भनेको प्रोटोकल पालना गरेर बजार सञ्चालन गर्न कुनै अप्ठ्यारो छैन।'
वैशाख २६ गते धितोपत्र बोर्डले संक्रमण अवस्थामा बजार सञ्चालनका लागि १४ बुँदै निर्देशन जारी गरेको थियो। त्यसमा बजार खोल्ने समय, सेयरको मूल्य परिवर्तन हुने समय, कारोबार भइसकेपछि रकम भुक्तानी, सर्किट ब्रेकर सम्बन्धी विषय उल्लेख थियो।
बोर्डको निर्देशनअनुसार नै खुलेको दुई दिनमा बजार लगातार घटेर कारोबार स्थगित भयो। पहिलो दिन १० करोड रुपैयाँ र दोस्रो दिन ३६ लाख रुपैयाँ बराबरको कारोबार भएपछि नेप्से २ प्रतिशतका दरले घट्यो र सर्किट ब्रेकर लाग्यो। नेप्से दुई प्रतिशतले घटे वा बढे कारोबार स्थगित गर्नुपर्ने नियम बोर्डले नै जारी गरेको हो।
नेप्से दुवै दिन निरन्तर घटेपछि सेयर लगानीकर्ताका ५ वटा संघहरूले तुरुन्त बजार बन्द गर्न माग राख्दै विज्ञप्ति जारी गरे। उनीहरूको माग दुई दिन भएको कारोबार पनि रद्द गर्नुपर्ने थियो। लगानीकर्ता कोरोनाको चर्चा चलेदेखि नै बजार बन्द गर्नुपर्छ भन्ने पक्षमा थिए।
'लगानीकर्ताले माग गरेर बजार बन्द गर्ने खोल्ने भन्ने हुँदैन,' उपाध्यायले भने, 'बजार बढे खोल्ने, घटे बन्द गर्ने धितोपत्र बोर्डको तरिका ठीक भएन। नेप्से र सेबोनको काम भनेको कारोबार गरेर धितोपत्रमा तरलता उपलब्ध गराउने हो, चलखेल भएको छ कि छैन हेर्ने हो।'
वर्ल्ड फेडेरेसन अफ एक्सचेन्जेजका अनुसार उसका सबै सदस्य स्टक एक्सचेन्जहरूले निरन्तर कारोबार गरिरहेका छन्। दुई-चार दिन बजार बन्द गरेका जोर्डन, फिलिपिन्स र श्रीलंकाका स्टक एक्सचेन्ज पुनः सञ्चालनमा आएका छन्। केही सदस्यहरूले कोरोनाका कारण कारोबारको नियममा सामान्य हेरेफेर गरेको विज्ञप्ति फेडेरेसनको वेबसाइटमा राखिएको छ।
फेडेरेसनमा संसारभरका दुई सयभन्दा बढी स्टक एक्सचेन्ज सदस्य छन्। नेप्से पर्यवेक्षकको हैसियतमा फेडेरेसनको सदस्य छ।
पूर्ण अनलाइन नभएकाले बजार खोल्ने नसकिएको अर्को तर्क धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरेका छन्।
'बाहिर सबै प्रविधि छ, घरमै बसेर गर्न सकिन्छ। हाम्रोमा मान्छेको मुभमेन्ट नभई हुँदैन,' उनले भने। सेयर किनबेच गर्न वा रकम भुक्तानी गर्न लगानीकर्तालाई ब्रोकरकहाँ जानै पर्ने बाध्यता रहेको उनले बताए।
ढुंगानाको यो तर्क पनि सही नभएको सरोकारवाला बताउँछन्।
'एक वर्षदेखि सेयर किनबेच गर्न वा पैसाको लेनदेन गर्न हामीकहाँ आइरहनु पर्दैन,' एक ब्रोकरले भने। बाहिरी मुलुकमा जस्तै ब्रोकरकैमा आएर वा अनलाइन कारोबार गर्ने सुविधा नेपालमा पनि भएको उनले जानकारी दिए।
'बाहिरतिर पनि अफलाइन कारोबार अहिले बन्द छ,' उनले भने।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली प्रविधिका कारण बजार बन्द गर्नुपर्ने अवस्था नरहेको बताउँछन्।
'सिडिएससीले सञ्चालनमा ल्याएको 'मेरो सेयर'मार्फत विद्युतीय रूपमा सजिलै सेयर ट्रान्सफर गर्न सकिन्छ,' उनले भने, 'नेपाल क्लियरिङ हाउसका सबै सदस्य बैंक तथा वित्तीय संस्था, सिडिएससीले तोकेका चार वटा क्लियरिङ बैंक वा अहिले बजारमा आएका विभिन्न सेवा प्रदायकमार्फत विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न गाह्रो छैन।'
उनले सेयर कारोबारका लागि अनलाइन सुविधा लिने लगानीकर्ता संख्या ३० हजार पुगेको दाबी गरे। अनलाइन सुविधा प्रयोग गर्ने नगर्ने कुरा लगानीकर्तामै निर्भर रहने उनले बताए।
कोरोना वा लकडाउन बजार बन्द गर्ने बहाना मात्रै भएको खास चिन्ता भने बजार घट्ने रहेको विश्लेषक उपाध्याय दाबी गर्छन्। उनले यी दुवै खाले चिन्ता गलत भएको बताए।
'सेयर बजार बन्द गरेर कोरोना संक्रमण कम हुँदैन, खोलेर बढ्ने पनि होइन,' उनले भने, 'बजार बन्द गरेर नेप्से घट्न रोक्न सकिन्न। घट्ने नै हो भने बजार जुन दिन खुल्छ, त्यो दिनदेखि घट्न थालिहाल्छ।'
अर्थतन्त्र ओरालो लागिरहेका बेला त्यसको 'रिफ्लेक्सन' सेयर बजारमा हुनुपर्ने उपाध्याय बताउँछन्। अर्थतन्त्रको गतिसँग ताल मिलाउँछ भन्ने मान्यतामा संसारभर सेयर बजार चलिरहेको उनले बताए।
'हाम्रो नियामक धितोपत्र बोर्ड, बजार सञ्चालक नेप्सले यो आधारभूत मान्यता बुझेनन्,' उनले भने।