साेमबारदेखि सेयर बजार खुल्ने भएको छ।
कोरोनाभाइरसपछि लकडाउनलाई वहाना बनाउँदै बन्द गरिएको बजार सोमबारदेखि खोल्न धितोपत्र बोर्डले निर्देशन दिएको छ।
धितोपत्र बोर्डले एक पत्र पठाउँदै सेयर कारोबार सञ्चालन गर्न भनेको हो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भोलिदेखि सेयर बजार खुल्ने जानकारी दिए।
भोलिबाट खुल्ने बजारमा सर्किट ब्रेकरसम्वन्धी पुरानै व्यवस्था कायम रहने प्रवक्ता पराजुलीले जानकारी दिए। ‘बिहान ११ बजेदेखि पुरानै सर्किट ब्रेकर कायम गरेर बजार खुल्नेछ’ उनले सेताेपाटीसँग भने।
पुरानो सर्किट ब्रेकरअनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्ने छ।
कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ।
पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोवार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।
बिहान ११ बजेदेखि बजार खुल्ने भए पनि बन्द हुने समय भने अझै तय भइनसकेको उनले बताए। बन्द हुने समय ३ वा ४ बजे गर्ने भन्नेबारेमा संचालक समितिले निर्णय गर्ने उनले बताए।
यसअघि नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताबीच भएको वार्तापछि बजार खोल्ने सहमति भएको हो।
चैत ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेको बजार बीचमा वैशाख ३० र ३१ गते दुई दिन सञ्चालन गरिएको थियो। ती दुई दिन सर्किट ब्रेकरमा परिवर्तन गरी २ प्रतिशतभन्दा बढी नेप्से घटे वा बढेमा कारोबार बन्द हुने व्यवस्था गरिएको थियो।
धितोपत्र बोर्डकै निर्देशनमा दुई दिन बजार खुले पनि बोर्डले नै लगानीकर्ताको दवावपछि पुनः बन्द गराएको थियो। नेपालको सेयर कारोबार बाहिरजस्तो पूर्ण रुपमा प्रविधियुक्त हुन नसक्दा लकडाउनका बेला बजार बन्द गर्नुपरेको बोर्डले बताउँदै आएको छ।