बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरुलाई लकडाउनले ठूलो असर पार्यो। यहीबीच बैंकहरुले ऋण तिर्न ताकेता गरिरहेको कतिपय ऋणीको गुनासो छ। बैंकहरूलाई पनि कतिपय ऋण नउठ्ला कि भन्ने चिन्ता छ। यिनै सम्बन्धमा सेतोपाटीका कमल नेपालले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जवरासँग गरेको कुराकानीः
कोरोना भाइरसपछिको लकडाउनले कस्ता कस्ता ऋणीलाई असर परेको पाउनुभएको छ?
हिमालयन बैंकको पोर्टफोलियोको एउटा अध्ययन गरेका छौं। सेक्टरअनुसार हाइ रिस्क, मिडिल रिस्क र लोअर रिस्क भनेर वर्गीकरण गरेका छौं।
हाम्रो टुरिजम क्षेत्रमा त्यस्तो ठूलो पोर्टफोलियो छैन। २ वटा फाइभस्टार होटल छन्। हामीसँग ऋण लगेका ४-५ वटा होटलहरु मध्यमस्तरका छन्। अरु स–साना होटलहरुलाई दिएका छौं।
त्यसमा पनि असर त परेको नै छ। यो क्षेत्रलाई राष्ट्र बैंकले कस्तो राहत व्यवस्था गर्छ भन्ने कुरा आगामी मौद्रिक नीतिले तय होला।
अहिलेसम्म राष्ट्र बैंकको जुन निर्देशन छ त्यही फलो गरेर हामी अगाडि बढेका छौँ। मौद्रिक नीतिले जस्तो दिशानिर्देश गर्छ, त्योअनुसार हामीले ऋणको व्यवस्थापन गर्ने हो।
मलाइ लाग्छ राष्ट्र बैंकले पर्यटन र सम्बद्ध क्षेत्रलाई राहत हुनेगरी केही व्यवस्था गर्नेछ। मलाई लाग्छ ती क्षेत्रहरुमा गएको ऋणको प्रोभिजनिङ पनि हलुका बनाउनेछ।
असार मसान्तमा ऋणीले तिर्ने किस्ताको व्याजमा राष्ट्र बैंकले दुई प्रतिशत छुट दिन भनेको छ, ऋणीले त्यो सुविधा पाउँछन्?
खासमा राहत निजी क्षेत्रले दिने होइन, सरकारले दिनुपर्ने हो। यहाँ त निजी क्षेत्रले नै दिनुपर्ने जस्तो सोच पनि पाइन्छ।
अब राष्ट्र बैंकले भनिसकेपछि हामीले ऋणीलाई यो सुविधा दिनैपर्यो। हामीले दिनेगरी हिसाव गरिसक्यौं। यसले हिमालयन बैंकलाई मात्रै ४७ करोड रुपैयाँको असर पार्नेछ। यो पैसा त सेयर होल्डरको पैसा हो। हाम्रोभन्दा ठूलो पोर्टफोलियो हुने बैंकलाई अझ धेरै असर पर्नेछ।
राहत कस्ता कस्ता व्यवसायीले पाउनु पर्ने हो, कस्ताले पाउन नहुने हो भन्ने विषयमा स्पष्ट हुनुपर्छ। व्याज छुट देउ भनेर मात्रै हुँदैन। वास्तवमा राहत पाउनुपर्नेले मात्रै लिनुपर्छ, भन्ने मात्रै हाम्रो सुझाव हो।
मेलम्चीको सुरुङ निर्माणका क्रममा हिमालयन बैंकले चाइना रेल्वे कम्पनीलाई गरेको काउन्टर ग्यारेन्टीवापतको रकम उठ्ला?
हालै इन्भेष्टमेन्ट बैंकले उस्तै प्रकारको काउन्टर ग्यारेन्टीको मुद्दा जित्यो।
चाइना रेलवेमा हामीले काउन्टर ग्यारेन्टी गरेको ६२ करोड रुपैयाँ बराबरको रकम उठ्नेमा पनि हामी निश्चिन्त छौँ। तर कति समय लाग्ला भन्न सकिँदैन।
हामीले पनि चीनको हाइकोर्टमा यससम्वन्धी मुद्दा जितिसकेका छौँ। उसले तल्लो न्यायालयलाई गलत निर्देशन सच्याउन भनिसकेको छ।
हामीलाई अप्रिलमा बोलाइएको थियो, कोभिड १९ का कारण रोकियो।
टेलीकन्फरेन्सबाट नै हामीलाई सहभागी गराउने भन्ने कुरा आयो। पछि चाइना रेल्वेले फेरि मेलम्चीको डकुमेन्ट डेलिभरीमा अब्जेक्ट गरेपछि हामीले अहिले मेलम्चीको डकुमेन्ट डेलिभरी गर्ने तयारी गरेका छौँ।
अगस्ट १४ लाई मिति तोकिएको छ। मलाई लाग्छ अगस्टमा यो टुङ्गिन्छ।
कोरोनाले असर पारेका होटल व्यवसायलाई पनि राहात पुग्ने, बैंकलाई पनि असर नपर्नेगरी कस्तो मौद्रिक नीति ल्याउनुपर्ने देख्नुहुन्छ?
पहिला पनि माओवादी विद्रोहका बेला कतिपय होटलहरु समस्याग्रस्त भएका थिए। त्यतिबेला भर्खरै चलेका होटलहरुको तिर्न बाँकी ऋणलाई फ्रिज गरेर एकापट्टि राख्यौं।
त्यो ऋणमा कस्ट अफ फण्ड चार्ज गरेर ‘टर्म लोन’ जस्तो गरी राख्यौं। जुनबेला विजनेस सुरु भयो त्यो दिनदेखि मात्रै सो ऋणलाई सामान्य मानेर गणना गर्यौं।
त्यस्तै भूकम्पका बेला पनि कतिपय ऋणको रिसेड्युलिङ गर्यौं। रिसेड्युलिङ गर्दा हामीलाई प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। यसमा राष्ट्र बैंकले सहजता दिनुपर्छ।
यसअघिको तेस्रो त्रैमासको साँवा, ब्याज तिर्न नसक्नेलाई राष्ट्र बैंकले असार मसान्तसम्मको समयसीमा दियो। हिमालयन बैंकको कति उठ्न सकेन?
सम्भवतः ७५ प्रतिशत साँवा र व्याज त उठिसक्यो। २५ प्रतिशत जति उठ्न नसकेको होला।
यहाँ त के भयो भने राष्ट्र बैंकले सबैलाई असार मसान्तसम्मको सीमा दियो। त्यसकारण तिर्न सक्नेले पनि तिरेको पाइएन।
असारसम्म जाँदा ऋणीलाई एकै पटक भार थपिन्छ। त्यसकारण अलिकति एड्जस्टमेन्ट पनि गर्नुपर्छ।
निक्षेपकर्तालाई दिने अधिकतम व्याजदरमा लगाइएको ‘क्याप’ कहिले खोल्नुहुन्छ?
मलाई पनि यो पटक्कै मन परेको छैन।
कुनै बेला फिक्स्ड डिपोजिटमा दिने व्याज १२ र सेभिङमै १०-११ पुगेको थियो।
त्यतिबेला मैले के भनेको थिएँ भने फिक्स्ड र सेभिङको रेटमा ४ प्रतिशतको फरक हुनैपर्छ। पछि ३ प्रतिशतको फरकमा हामी सहमत भयौं। स्थिति सामान्य नहुने बेलासम्मका लागि भनिएको सहमति लम्विँदै गएको छ।
यो आर्थिक वर्षपछि हामी यस्तो ‘क्याप’ राखेर बस्दै बस्दैनौं। अहिले लिक्विटीको स्थिति पनि सामान्य भइसकेको छ।
व्याजका सवालमा व्यवसायीको पनि दवाव परेको हो। बैंकहरुले धेरै पैसा कमायो, व्याजदर घटाउन भन्ने। जसको कारोबार पारदर्शी छ, उसैको कमाई देखिने भयो।
तर ती व्यवसायीले कति कमाएका छन्, कसैलाई थाहा छैन। कोभिड १९ को कोषमा विजनेश कमिटीहरुको सहयोग मैले त्यति देखिनँ। बैंकहरुले त राम्रै सहयोग गरेका छन्।
कतिपय बैंकले यस्तो अवस्थामा आफ्ना ऋणीलाई साँवा व्याज तिर्न ताकेता गरे, धम्की दिए भन्ने गुनासो पनि छ नि?
हाम्रा ग्राहकलाई त हामीले सधैं हेर्नुपर्छ। हाम्रो बैंकसँग यति लामो संगत गर्नुभएका ग्राहकलाई हामीले कहिल्लै त्यसरी दवाव दिएनौं। अहिले पनि फोन गरेर जबरजस्त ऋण तिर्न लगाउने, दुख दिने जस्ता काम गर्दैनौं।
मैले पनि सुन्छु बजारमा कुनै कुनै बैंकहरुको व्यवहार राम्रो छैन। मेरो मान्यता के हो भने सेवा दिन सकिँदैन भने बरु नयाँ कस्टुमर नलिउँ, भएकालाई राम्रो बनाउँ भन्ने हो।
कोभिड १९ बाट बैंकिङ क्षेत्रले सिक्नुपर्ने पाठ के के देख्नुहुन्छ ?
कोभिडपछि टेक्नोलोजी र रिमोर्ट वर्किङ बढ्यो। हामीले कतिपय काम घरमै बसेर पनि गर्यौं। लोन प्रोसेसिङ, अप्रुभलका धेरै कामहरु गर्यौं।
स्टाफहरुबीच कसरी समन्वय गर्ने, कसरी टिम बनाएर काम गर्ने भन्नेबारेमा यसले सिकायो।
आगामी दिनमा हुन सक्ने अझ ठूला महामारीका लागि पनि यो एउटा अभ्यास भयो। प्रविधिको प्रयोग बढाउनुपर्ने छ, बढ्दै पनि गएको छ।
हालै आरटिजिएस लागू भयो। सिआरडी (सेन्ट्रल रजिस्ट्रेसन डिपोजिटरी) को विस्तार गर्यौं।
कनेक्ट आइपिएसको प्रयोगले पनि बैंकहरुलाई सजिलो भएको छ। त्यसबाट एक बैंकबाट अर्को बैंकमा तुरुन्त रकम ट्रान्सफर हुन सकेको छ।