एभरेष्ट बैंकको प्रधान कार्यालयमा दुई जना कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ। बैंकको प्रधान कार्यालय दुई दिनका लागि बन्द गरिएको मार्केटिक प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।
‘टेकुका स्वास्थ्यकर्मीको सल्लाहअनुसार दुई कर्मचारीहरु अहिले होम आइसोलेसनमा हुनुहुन्छ, आज र भोलि कार्यालय बन्द रहनेछ’ उनले भने ‘दुई दिन कार्यालय निर्मलीकरण गर्ने काम भइरहेको छ।’
प्रधान कार्यालयका कतिपय काम घरबाटै भइरहेको उनले बताए। अन्य कामका लागि अरु शाखाबाट सेवा लिन उनले ग्राहकलाई आग्रह गरे।
प्रधान कार्यालयका १ सय ५२ जना कर्मचारीमा शुक्रबार पिसिआर परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको थियो। अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएकाले संभवतः पर्सिदेखि उच्च सतर्कताका साथ प्रधान कार्यालय सञ्चालनमा आउने उनले बताए।
‘कार्यालयमा पहिलेदेखि नै सुरक्षा सतर्कता अपनाएर काम गरिँदै आएको छ, तर दुई जनामा कसरी संक्रमण भयो हामी पनि आश्चर्यमै छौँ’ उनले भने।
कर्मचारीमा कोरोना देखिएपछि बैंकको प्रधान कार्यालय नै बन्द गर्नु परेको यो पहिलो घटना हो।
संक्रमित दुई जनालाई कुनै लक्षण नदेखिएको उप्रेतीले बताए। उनका अनुसार संक्रमित कर्मचाचरी कतै बाहिर गएका थिएनन्। ‘सोधपुछका क्रममा उहाँहरु बैंक–घर मात्रै आवतजावत भएको देखियो’ उनले भने।