जीवन बीमा कम्पनी रिलायन्स लाइफले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डको स्वीकृतिमा भदौ ४ देखि आइपिओका लागि आवेदन खुला गर्ने जानकारी गराएको छ।
एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ। यसमा सर्वसाधारणका लागि ५६ लाख कित्ताका लागि खुलाउने भएको हो। बाँकी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता नै कर्मचारीका लागि छुट्याउने भएको छ।
आइपिओको आवेदन भदौ ४ देखि खुल्ने छ भने भदौ ८ देखि २२ गतेको बीचमा बन्द हुनसक्ने छ। आइपिओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्मका लागि अंकित गर्नुपर्ने छ।
चुक्ता पुँजी १ अर्ब ४७ करोड भएको कम्पनीले आइपिओमार्फत् ६३ करोड उठाएपछि २ अर्ब १० करोड हुने छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ४५ पैसा छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ। कम्पनीले सञ्चालनमा आएको पहिलो वर्ष ७ करोड मुनाफा आर्जन गरेको थियो। दोस्रो वर्ष ९ करोड नाफा गरेको कम्पनीले गएको वर्षको अनुमानित नाफा १३ करोड रुपैयाँ रहेको छ।
कम्पनीले आगामी तीन वर्षमा क्रमश: २५ करोड ४३ करोड र ७१ करोड नाफा कमाउने लक्ष्य लिएको छ।
आइपिओका लागि फारम लिने तथा बुझाउनका लागि सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
कम्पनीले आइपिओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।