बुधबार सेयर बजारको परिसूचक नेप्से १६ सय अंकमा पुगेको छ।
७ महिनापछि यस दिन नेप्से १६ सय अंकमा कायम भएको हो। यसअघि फागुन १८ गते परिसूचक १६२० अंकसम्म पुगेको थियो। आजको अंक त्यसयताकै उच्च विन्दुमा हो।
यस दिन १४. ६८ अंकले नेप्से बढेर १६ सय दशमलव ९७ अंकमा कायम भएको हो। यस दिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
केही दिनयता जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएकोमा बुधबार पनि त्यस्तो अवस्था कायमै रह्याे। सो समूह ७५ अंकले बढेको छ।
यस दिन बैंकिङ ५, ब्यापार ६, होटल ५२, विकास बैंक ७७, फाइनान्स २३, निर्जीवन बीमा समूह ७६, अन्य ४, जीवन बीमा समूह १७ अंकले बढेका छन्। उत्पादन १ र माइक्रोफाइनान्स समूह ०. २ अंकले घटे।
धेरै नाफा कमाउनेमा पनि यस दिन जलविद्युत कम्पनीका लगानीकर्ताहरु अगाडि रहे। सान्जेन, बरुण हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए।
रसुवागढी जलविद्युतकाे मूल्य ९ प्रतिशतले बढेकाे छ।
त्यस्तै कर्णाली विकास बैंक तथा समृद्धि फाइनान्सको मूल्य पनि १० प्रतिशत नै बढेको छ। ऋरुण काबेलीको सबैभन्दा बढी १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै अरुण भ्यालीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने सानिमा माइ हाइड्रोको ११ करोडभन्दा बढी रकमको सेयर कारोबार भयो।
लक्ष्मी इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ।