कोरोना बीमा गरेका करिब १४ हजारले दावी भुक्तानीका लागि विभिन्न निर्जीवन बीमा कम्पनीहरुमा आवेदन दिएका छन्।
यी कम्पनीहरुले ‘पुल’मार्फत नै कोरोना बीमा योजना कार्यान्वयनमा ल्याएका हुन्। आवेदन परेकामध्ये २ हजार ३ सयले मात्रै प्रक्रिया पुरा गरेको बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे बताउँछन्। अधिकांशले आवश्यक कागजात पुरा गरेका छैनन्।
बीमा दावी गर्दा पिसिआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस वा अस्पतालमा बसेको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजात सहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्दछ।
बिमक संघका अनुसार अस्पताल वा होम आइसोलेसनमा बसेको प्रमाणित कागजात धेरैले जुटाउन सकेका छैनन्।
अस्पतालमा बसेकाले अस्पतालबाट र घरमै बसेकाले सम्वन्धित स्थानीय निकायबाट आइसोलेसनमा बसेको भनी प्रमाणित सिफारिस लिएको हुनुपर्छ। कोरोना पोजेटिभ भएको रिपोर्ट हुँदा हुँदै आखिर किन खोजियो त आइसोलेसनमा बसेको प्रमाण?
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार मापदण्डमा नै यो व्यवस्था तोकिएकाले आइसोलेसनमा बसेको प्रमाणित कागज अनिवार्य चाहिनेछ। स्वास्थ्य मन्त्रालयको समन्वयमा नै मापदण्ड बनेको उनले बताए।
‘त्यसबेला कोरोना संक्रमणको दर एकदमै दु्रत गतिले बढेकाले संक्रमित व्यक्ति अनुशासित भई घर वा अस्पतालको आइसोलेसनमै बसुन्, सम्वन्धित अस्पताल वा स्थानीय निकायको निगारनी होस्, बाहिर जथाभावि हिँडेर अरुलाई जोखिम नहोस् भन्ने हिसावले स्वास्थ्य मन्त्रालयको समन्वयमै मापदण्डमा यो व्यवस्था गरिएको हो’ उनले सेतोपाटीसँग भने।
बीमा एक सुरक्षा पनि भएकाले आइसोलेसनमा बसेको प्रमाणित कागजात नभएसम्म दावी भुक्तानी हुन नसक्ने पनि उनले बताए।
आइसोलेसनमा नबस्दा संक्रमणको जोखिम झनै बढ्ने भएकाले यो व्यवस्था उचित रहेको उनले दावी गरे। आइसोलेसनमा बसेको प्रमाणित कागज जुटाउन कुनै ठूलो समस्या नरहेको उनले बताए।
‘अस्पतालको आइसोलेसनमा बसेकालाई सजिलै अस्पतालले प्रमाणित कागज बनाइदिन्छ, जो जहाँ आइसोलेट भएको छ, सम्वन्धित स्थानीय तहमा त्यसको जानकारी हुन्छ, त्यहाँबाट सिफारिस लिन सकिन्छ’ उनले भने।
सबै कागजात जुटाएर प्रक्रिया पुरा भएको सात दिनभित्रै कोरोनाको दावी भुक्तानी गर्नुपर्ने व्यवस्था मापदण्डमा उल्लेख छ। हालसम्म करिब २ हजार जनाले बीमा रकम लिइसकेका छन्।