झण्डै २० दिनको अन्तरालमा सेयर बजार परिसूचक नेप्से सय अंकले बढेर १७ सय विन्दुमाथि पुगेको छ। बुधबार नेप्सेले छोएको विन्दु चार वर्ष यताकै उच्च हो।
स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेले १७०७ विन्दु छोएको हो। यसअघि २०७३, चैत ३० मा नेप्से १७०३ मा थियो। यस अवधिमा ठूलो रकमको कारोबार पनि भएको छ।
नेप्सेले २०७३, साउन १२ मा हालसम्मकै उच्च विन्दु १८८१ लाई छोएको थियो।
अन्तर्राष्ट्रिय रुपमै सेयर बजारमा उछाल आएको, ब्याजदर घटेको, कम्पनीहरूले अपेक्षा गरेभन्दा बढी लाभांश घोषणा गरेको, अर्थमन्त्री परिवर्तन भएको लगायत कारणले नेप्सेमा बढोत्तरी भएको जानकार बताउँछन्।
‘सेयर बजारमा नियमित र ठूलो परिमाणमा कारोबार गर्नेहरूले बैंकबाट ऋण लिएर कारोबार गर्छन,’ एक सेयर दलालले भने, ‘ब्याज दर घटेपछि स्वाभाविक रुपमा मान्छेहरू ऋण लिएर सेयर किन्न थाल्छन्। यसले माग बढ्छ र मूल्य पनि बढ्छ।’
अहिले पैसा लगाउनका लागि अरू क्षेत्र नभएकाले पनि सेयर बजारतिर लगानी बढेको उनले बताए।
बैंक तथा वित्तीय संस्थाहरूले ६ महिना अघिसम्म सेयर धितोमा ११–१२ प्रतिशत ब्याज लिएर ऋण दिने गरेकोमा हाल ७ प्रतिशतमा दिने गरेका छन्।
‘ब्याज सस्तो भएको मात्रै होइन, बैंक कर्मचारीले फोन गरेरै ऋण लिनु आउनुस् भन्न थालेका छन्,’ उनले भने।
कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गर्नुअघि दैनिक औसत एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो। यस्तो औसत हाल साढे दुई अर्बभन्दा माथि पुगेको छ।
‘पछिल्लो दुई–तीन दिनमा ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच हुने गरेको छ,’ उनले भने।
महामारीकै कारण अर्थतन्त्र धरासायी हुने र त्यसबाट सेयर बजार पनि प्रभावित हुने अनुमान पहिले गरिएको थियो।
‘लगानीकर्ता हतोत्साही भएका थिए तर अहिले कम्पनीहरूले घोषणा गरेको लाभांश हेर्दा त्यो गलत थियो कि भन्ने जस्तो देखिन्छ,’ सेयर बजार विश्लेषक अनुप रेग्मीले भने। पछिल्लो समय २७ मध्ये ८ वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन्। यी बैंकहरूले ७ देखि २० प्रतिशतसम्म बोनस सेयर तथा नगद लाभांश दिने घोषणा गरेका छन्।
नेपालको सेयर बजारमा वाणिज्य बैंकहरूको हिस्सा ठूलो छ।
‘वाणिज्य बैंकहरूले हालसम्म घोषणा गरेको लाभांश सन्तोषजनक नै छ,’ रेग्मीले भने, ‘बैंकबाहेक सेयर बजारमा भएका अरु क्षेत्रका कम्पनीले दिने भनेको लाभांशको दर पनि राम्रै छ।’
फाइजर र बायोएनटेक कम्पनीले कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन ल्याउन लागेको समाचारले संसारभरको सेयर बजार बढेका छन्। लगानीकर्ता संसारभरका सेयर बजार बढ्दा यहाँ पनि बढ्नु स्वाभाविक नै मान्छन्।
‘विदेश र नेपालको सेयर बजार प्रत्यक्ष रुपमा जोडिएको छैन,’ नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘ता पनि सेयर बजारलाई सूचनाको बजार भन्छन्। त्यताको सूचनाको प्रभाव यता पर्छ नै।’
पूर्व अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनलई पनि लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन्।
‘संयोग हो वा के हो तर खतिवडा अर्थमन्त्रीबाट बाहिरिनु भएपछि एक-दुई दिन घट्ने बाहेक सेयर बजार क्रमिक रुपमा बढेको छ,’ अर्का सेयर दलालले भने।
खतिवडा सेयर बजारप्रति अनुदार मानिन्थे। उनको कार्यकालभरी लगानीकर्ता र खतिवडाबीच मैत्रीपूर्ण सम्बन्ध रहेन।
‘उहाँ लगानीकर्तालाई भेट्ने, उनीहरूका कुरा सुन्ने गर्नु हुन्थेन। कहीँकतै भेट भइहाल्यो भने पनि रुखो व्यवहार गर्नुहुन्थ्यो,’ साना लगानीकर्ता संघका उपाध्यक्ष दिनेश थापाले भने।
बजार विश्लेषक रेग्मी यस्तो बेलामा सेयरमा लगानी गर्दा सजग हुनुपर्ने बताउँछन्। उनका अनुसार सामान्यतया बजार बढेका बेला नयाँ लगानीकर्ता भित्रिन्छन्।
‘बजार बढेको छ, सबैले कमाएका छन् भन्ने उनीहरूलाई लाग्छ,’ रेग्मीले भने, ‘तर बजार सधैं बढ्दैन, उच्च तहमा पुगेको बेलामा सेयर किन्दा त्यस्ता लगानीकर्ता नोक्सानीमा पर्न सक्छन्।’
प्राविधिक विश्लेषणहरुले बजार बढ्न सक्ने संकेत गरे पनि आधारभूत विश्लेषणले बजार जोखिमपूर्ण तहमा पुगेको देखाउने उनले बताए।
‘मूलभूत रुपमा प्राविधिक विश्लेषणले हिजोअस्ति बजारमा भइरहेको कारोबारको आधारमा भोलिपर्सि के हुन्छ भन्ने अनुमान गर्ने हो,’ उनले भने, ‘यो नितान्त गणितीय विधि हो। यस्तो विश्लेषणले अरू परिवेशहरूलाई ध्यान दिएको हुँदैन।’
सेयर बजारमा कारोबार हुने कम्पनीको व्यवसाय के हो, उसको नाफा नोक्सानको अवस्था के छ भन्ने कुरामा ध्यान दिनुपर्ने रेग्मीले बताए।
‘कम्पनीको नाफा कमाउने क्षमता र बजारमा चलेको सेयरको मूल्य मेल खान्छ कि खाँदैन भनेर लगानीकर्ताले हेरे भने नोक्सानीमा पर्ने सम्भावना कम हुन्छ,’ उनले भने।