स्टक एक्सचेन्जमा आइतबार एकै दिन झण्डै ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एकै दिन यति ठूलो परिमाणको सेयर किनबेच भएको यो पहिलो पटक हो।
स्टक एक्सचेन्जका अनुसार यस दिन ६ अर्ब ९० करोड ७२ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्। यस अघि ठूलो परिमाणमा गत बिहीबार ६ अर्ब ११ करोड र २०७६ फागुन ११ मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
अर्थतन्त्रको अन्य क्षेत्रमा गतिविधि नभएकाले लगानीकर्ता सेयर बजारमा ओइरिएका छन्। ब्याज दर सस्तिँदा र कम्पनीहरूले जारी गरेको वित्तीय विवरण सकारात्मक भएकाले पनि लगानीकर्ता हौसिएका छन्।
यस दिन सेयर बजार परिसूचक नेप्से पनि ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ। दिनभर बजार परिसूचक तीब्र गतिमा तलमाथि गरेको थियो। बढेर १८११ को उच्चतम विन्दु छोएको नेप्से घटेर १७६१ सम्म झरेको थियो।
कारोबार भएका २ सय १ मध्य ६२ कम्पनीको सेयर मूल्य बढेको, ९८ को घटेको १२ को स्थिर रहेको नेप्सेले जनाएको छ।
अनलाइन प्रणाली सञ्चालनमा आएकाले कारोबारको आकार बढेको नेप्सेको दाबी छ। हाल डेढ लाख लगानीकर्ताले अनलाइनबाट कारोबार गर्छन। नेप्सेका अनुसार बजारमा सक्रिय लगानीकर्ताको संख्या तीन लाखभन्दा बढी छ।
आइतबार वाणिज्य बैंक र विकास बैंक समूहले नेप्सेलाई उचालेका हुन्। नेप्सेमा सबैभन्दा ठूलो भार वाणिज्य बैंक समूहको छ। कारोबार भएको अरू समूहका परिसूचक घटेका छन्। व्यापार र होटल समूहका परिसूचक उच्च दरले घटेका छन्।