पछिल्लो समय ग्राहकहरुले भुक्तानीको माध्यम एटिएमभन्दा अनलाइनलाई रोज्दै आएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एटिएमको तुलनामा एउटै अनलाइन माध्यम लोकप्रीय हुँदै आएको छ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार आइपिएस कनेक्टको माध्यमबाट हुने भुक्तानी समग्र एटिएमको तुलनामा झन्डै दोब्बर रहेको छ। देशभरका एटिएम कार्डबाट असोज महिनामा ४६ अर्ब भुक्तानी भएको छ भने कनेक्ट आइपिएसबाट मात्र ८८ अर्ब भुक्तानी भएको छ।
तथ्यांकअनुसार वालेट तथा इन्टरनेट बैंकिङको माध्यमबाट हुने भुक्तानी पनि बढ्दो क्रममा छ। असोज महिनामा मात्र ६ अर्ब,मोबाइल बैंकिङको माध्यमबाट २८ अर्ब र वालेटबाट ९ अर्ब भुक्तानी भएको छ। त्यस्तै पिओएस मेसिनबाट असोजमा २ अर्ब भुक्तानी भएको छ। असोजमा मात्र कार्डको प्रयोग गरी इकमर्शमा ७९ करोड रुपैयाँ भुक्तानी भएको छ।
अनलाइन भुक्तानी सेवाप्रदायकहरुले पछिल्लो समय ल्याएका नयाँ सुविधाका कारण उपभोक्ताहरु आकर्षित हुँदै आएका छन्। आइपिएस कनेक्टको माध्यमबाट कर तिर्न सकिने तथा अन्य सेवा शुल्कहरु तिर्न सकिने सुविधा रहेका छन्।
दैनिक आवश्यकताका वस्तु खरिददेखि कर बुझाउनेसम्मका सुविधा थपिएकाले यस्तो भुक्तानीको माध्यम लोकप्रिय भइरहेको छ।