नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ।
सभाबाट हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सयको ४ प्रतिशत नगद लाभांश (कर समेत) र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।
बोनश शेयरपछि बैंकको साविक जारी तथा चुक्ता पुँजी बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ पुगेको छ।
सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, गत आवको नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ।
साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएको छ।
विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन्।