मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सेवा सुरु गरेको छ।
बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको सम्बोधन गर्ने उद्देश्यले बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सुरु गरेको हो।
छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४सै घण्टा लिन सक्न बैंकले बताएको छ।
कसरी लिने यो सेवा ?
ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन्।
वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ। त्यसमा क्लिक गरेपछि बिभिन्न प्रडक्ट/सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन्। आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि तत्कालै प्रतिक्रिया सहित सेवा पाउन सकिन्छ।
डबल विन्डोमा बनेको ‘मिभा’मा राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन्।
ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतिबाट सञ्चालन गरिएको बैंकले जनाएको छ ।