नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा ३ लाख ७४ हजार भुक्तानी क्युआर कोडमा आधारित भएका छन्। यो संख्या अघिल्लो महिना, कात्तिकको तुलनामा एक लाखले बढी हो।
कारोबार संख्या मात्र होइन, रकममा पनि यस्तै बृद्धि देखिन्छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार मंसिरमा १ अर्ब २५ करोड रूपैयाँ क्युआर माध्यमबाट कारोबार भएको छ। यो रकम कात्तिकको तुलनामा ३३ करोड धेरै हो।
नेपाल राष्ट्र बैंकले क्युआर कोड स्क्यान गरेर हुने भुक्तानीको तथ्यांक साउनदेखि राख्न सुरू गरेको थियो। साउनमा १ लाख ९५ हजार वटा भुक्तानीबाट ५८ करोड रूपैयाँ भुक्तानी भएको थियो।
पछिल्लो पाँच महिनाको यो तथ्यांकले नेपालमा क्युआर कोड स्क्यानबाट हुने भुक्तानी लोकप्रिय हुँदै गएको देखिन्छ।
फोन-पेका सिटिओ दिवस सापकोटा सहज प्रविधिका कारण यस्तो भुक्तानी लोकप्रिय हुँदै गएको बताउँछन्।
कुनै पनि भुक्तानीमा तीन पक्ष समावेश हुनुपर्छ- तिर्ने ग्राहक, बिक्री गर्ने व्यापारी र भुक्तानी सेवा दिने बैंक/मोबाइल वालेट।
जब कुनै पनि प्रविधि यी तीनवटै पक्षका लागि सहज र फाइदाजनक हुन्छ, त्यसले व्यापकता पाउने सापकोटाको भनाइ छ।
'यो प्रविधिमा सबैलाई फाइदा छ। सजिलो पनि छ। त्यसैले यसको पूर्वाधार विस्तार भएसँगै यसको प्रयोग पनि बढ्दै जान्छ,' उनले भने।
कुनै पनि वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई क्युआर 'स्ट्यान्डी' (क्युआर कोड स्क्यान गर्न राखिएको कार्ड) राख्न एटिएम कार्डको जस्तो पिओएस टर्मिनल (कार्ड स्क्यान गर्ने मेसिन) राख्न पर्दैन। सामान्यतया कार्डका लागि पसलमा मेसिन राख्न ४०/५० हजार रूपैयाँ लागत पर्छ भने भुक्तानीका लागि लाग्ने कमिसन पनि धेरै हुन्छ।
क्युआर कोड प्रणालीका लागि व्यवसायीलाई त्यत्रो लगानी वा प्रक्रिया पर्दैन। लागत हिसाबले सस्तो हुने भएकाले यो सामान्य पसलसम्म पुग्ने सापकोटाको भनाइ छ।
'हाम्रो देशमा कार्डको इतिहास लामो भइसक्यो। भुक्तानीका लागि यसको प्रयोग भने केही ठूला पसल तथा स्टोरभन्दा बाहिर जान सकेको थिएन। किनभने सामान्य किराना पसलमा यसको विस्तार सम्भव थिएन। लागतका कारणले। तर क्युआर प्रणाली सामान्य पान पसलसम्म पनि पुग्न सक्छ,' उनले भने।
व्यवसायीका लागि लागत महत्वपूर्ण हुन्छ। त्यसैले कार्ड भुक्तानी प्रणाली तल्लो तहसम्म पुगेको थिएन। कार्डपछि आएको मोबाइल बैंकिङमा पनि केही सीमितता थिए र छन्। तर जब यसमा क्युआर कोड प्रणलाी थपियो, यसको विस्तार तरकारी बजारसम्म पुग्न सफल भएको उनी बताउँछन्।
सामान्य उपभोक्ताका लागि पनि यो प्रणाली चलाउन सहज छ। जस्तो मोबाइल बैंकिङबाट सिधै नम्बर हानेर गरिने भुक्तानीमा नम्बर गलत पर्नेबित्तिकै गलत ठाउँमा जाने खतरा हुन्छ। तर यसमा जुन क्युआरमा स्क्यान गरिन्छ, त्यो सिधै जानुपर्ने ठाउँमा जान्छ। यस कारणले सर्वसाधारण ग्राहकका लागि पनि सहज प्रविधि भएको सापकोटाको भनाइ छ।
यो प्रविधिबाट भुक्तानी गर्न लागि व्यवसायी, उपभोक्ता तथा भुक्तानी सेवाप्रदायक सबै एकैपटक तयार भने हुनुपर्छ। यसबाहेक यो प्रविधि चल्न इन्टरनेट चाहिन्छ। अर्थात् मोबाइलमा इन्टरनेट कनेक्ट हुनुपर्यो।
पसलेले क्युआर मर्चेन्ट लिएर स्ट्यान्डी राख्नुपर्यो र वालेट वा मोबाइल बैंकिङ एपमा क्युआर पेमेन्टको विकल्प हुनुपर्यो।
'यी सबै कुरा एक ठाउँमा भएपछि भुक्तानी सफल हुन्छ,' सापकोटाले भने।
क्युआर भुक्तानीको 'ड्राइभर' फोन-पेः
जुनै प्रविधि आए पनि त्यसको प्रयोग बढाउन कुनै न कुनै सहजकर्ता हुनुपर्छ। व्यावसायिक लाभकै सेवा वा वस्तु भए पनि जबसम्म त्यसको सहजीकरण हुँदैन, तबसम्म विस्तार सम्भव हुँदैन। ठीक यस्तै सन्दर्भ क्युआर भुक्तानीमा पनि छ।
विश्वबजारमा सानो सानो भुक्तानीमा व्यापाक प्रयोगमा आइसकेको यो प्रविधि नेपाल भित्रिएर बजार प्रयोगमा आएको तीन वर्षभन्दा धेरै भएको छैन। त्यसअघि फरक-फरक कम्पनीले सीमित क्षेत्रमा राखेका थिए। पछिल्लो समय भने यसको विस्तारकै लागि कम्पनीहरू लागिपरेका छन्। यसैमध्येको एक हो फोन-पे।
कुनै एटिएम कार्डबाट पैसा झिक्दा वा तिर्दा एक खाताबाट अर्को खातामा पैसा पठाउने काम गर्न बीचमा एउटा सेवाप्रदायक हुन्छ। त्यसैगरी क्युआर स्क्यान भुक्तानीका लागि काम गर्ने कम्पनी हो फोन-पे।
फोन-पे १८ महिनाअघि स्थापना भएको हो। यसले अन्तर बैंक भुक्तानीको काम पनि गर्छ। अर्कोतिर यसले बीचमा बसेर उपभोक्ता भुक्तानीका लागि क्युआर कोड व्यापक बनाइरहेको छ।
फोन-पेको प्रवेशले गर्दा क्युआरमा आधारित भुक्तानी प्रणाली सहज भएको र यही कारण व्यापक हुँदै गएको सापकोटाको भनाइ छ।
प्रविधि सहज भए पनि पहिले यसको प्रयोग झन्झट थियो। जस्तो कुनै एक बैंकको एपबाट सोही बैंकले जारी गरेको क्युआर कोड स्ट्यान्डीबाट मात्र भुक्तानी गर्न सकिन्थ्यो। जस्तो, सेल्सबेरी सुपरमार्केटमा एनआइसी एसिया बैंकको कोड भए, त्यहाँ अरू बैंकका एप तथा वालेटबाट भुक्तानी गर्न मिल्दैन थियो।
'यसबाट भुक्तानी सबै बैंकका प्रयोगकर्ताको पहुँचमा थिएन। किनभने सबै ठाउँमा सबैले स्ट्यान्डी राख्ने र व्यवसायीले पनि सबैको मर्चेन्ट लिन सम्भव थिएन,' सापकोटाले भने, 'हामी यसमा जोडिएपछि हाम्रो नेटवर्कमा रहेका सबै प्रयोगकर्ताले हाम्रो स्ट्यान्डीबाट तिर्नसक्ने भए।'
फोन-पेले विभिन्न बैंक तथा वालेटसँग नेटवर्किङ गरेको छ। फोन-पेसँग जोडिएका प्रयोगकर्ताका लागि एउटै स्ट्यान्डीबाट भुक्तानी सम्भव भयो। यसबाट व्यवसायीलाई पनि एउटै मर्चेन्ट लिए हुने भयो भने अर्कोतिर धेरै प्रयोगकर्ताका लागि भुक्तानी विकल्प हुने भयो।
हालसम्म फोन-पेले ६८ वटा पार्टनर बनाइसकेको छ। फोन-पेको नेटवर्कमा तीन वटाबाहेक सबै 'क' वर्गका वाणिज्य बैंक जोडिएका छन् भने इसेवा र सेल-पे वालेट पनि छन्।
हालसम्म एक लाख ८० हजार स्ट्यान्डी विस्तार गरिसकेको फोन-पेको नेटवर्कबाटै अधिकांश क्युआर पेमेन्ट भइरहेको सापकोटाले बताए। सानोभन्दा सानो तहसम्म डिजिटल भुक्तानी विस्तार गर्न यही प्रविधि सहज हुने उनको दाबी छ।