करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कर तथा राजस्व आफ्नो मोबाइल बैंकिङबाट भुक्तानी गर्न सक्ने भएका छन्।
राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता समेत भएको छ।
सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरे।
करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शूल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सक्नेछन्।
यस्तै वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ। मोबाईल बैकिङबाटै कर तिर्न सकिने भएसँगै करदाताहरूलाई विभिन्न कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ।
कसरी तिर्ने कर?
मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरी बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गएर रेभिन्यूमा क्लिक गर्नुपर्छ। त्यहाँ रहेको सरकारी राजस्व करमा क्लिक गरी करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिनेछ।