आइतबार सेयर बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ। कारोबार बन्द हुँदा बजारका सबै सूचक राताम्मे भएका छन्। सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ।
दिनभर सेयर बजार उतारचढावमा रह्यो। खासगरी यतिबेला अन्योल राजनीतिक वातावरणका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन्।
भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद बैठक बस्दैछ। ओलीले विश्वासको मत पाउने संभावना कमजोर छ, तर अरु कसैको नेतृत्वमा सरकार बन्ने अंक गणित पनि मिलिसकेको अवस्था छैन।
आज ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यस दिन बैंकिङ समूह जम्मा ०.२८ अंक मात्रै घट्यो। ब्यापार ६१, होटल तथा पर्यटन ४१, विकास बैंक १, जलविद्युत ३४, फाइनान्स १२, निर्जीवन बीमा ३१, उत्पादन ९२, अन्य २७, माइक्रोफाइनान्स ९७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन्।
यस दिन समता घरेलु लघुवित्त र रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाए।
महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन्। ५ हजार नाघेको कम्पनीको मूल्य आज ५ हजार ५२७ रुपैयाँमा कायम भएको छ। त्यस्तै विशाल बजार कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशत नै गुमाएका छन्।
कम्पनीको मूल्य प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा झरेको छ। सिंगटी हाइड्रोको मूल्य साढे ९ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन एनसिसी र कुमारी बैंक अग्रस्थानमा रहे। ती कम्पनीको २८–२८ करोड रुपैयाँ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरीको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो।